तुलसीपुरका एक युवाले आफूले फेला पारेको नगद ७५ हजार रूपैंया प्रहरीलाई बुझाएका छन् ।
तुलसीपुरमा डिल्लु हेयर कटिङ सञ्चालन गर्दै आएका डिल्लु चौधरीले आइतबार बेलुका तुलसीपुरको व्यस्त बजारमा फेला पारेको नगद ७५ हजार रूपैंया प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले सेतोपाटीलाई बताए।
‘आइतवार बेलुका पौने ७ बजेतिर मैले विरेन्द्र चोकमा ७५ हजार नगद फेला पारेपछि नजिकै डिउटीमा रहेको प्रहरीलाई उक्त रकम बुझाएको हुँ,’ चौधरीले भने, ‘पैसा हराउने व्यक्तिले प्रमाणसहित आएमा प्रहरीले उपलब्ध गराओस भन्नका लागि दिएको हुँ।’
उनले अर्काको मेहनत र पसिना सित्तैमा खानु गलत भएको बताए। यसैबीच ईप्रका तुलसीपुरका प्रमुख सापकोटाले उक्त रकम तुलसीपुरकै एकजना व्यापारीले आफ्नो भएको दाबी गरेको बताएका छन्। फेला परेको रकमबारे अनुसन्धान भइरहेको उनले बताए ।