भुटानी नागरिक ज्याम्दे ५ वर्षअघि पशुपति दर्शन गर्न आएकी थिइन्। यताउता फोहोर र अव्यवस्थित देखिन्।
यसपालि आउनेबला सोचिन्, ‘भुइँचालोपछि त झनै अस्तव्यस्त र फाहोर भयो होला।
जब पशुपति मन्दिर क्षेत्र छिरिन्, उनका सबै अनुमान ‘फेल’ खाए।
‘ओहो, पहिलोपटक आउँदा यहाँ सबै भद्रगोल थियो। अहिले धेरै कुरा बदलिएछ,’ २२ वर्षीय ज्याम्देले भनिन्, ‘जुत्ता–चप्पल राख्ने, खानेपानी, पूजापाठ व्यवस्था राम्रो भएछ। सबभन्दा राम्रो, यहाँ सफाइ भएछ।’
खाली खुट्टा दर्शन गर्न जाँदा पनि फोहोर नलागेको सुनाउँदै उनले भनिन्, ‘चारैतिर नभए पनि मुख्य क्षेत्र सफा छ।’
ज्याम्देसँग आएका अन्य ३० जना पर्यटकले पनि फोहोर नभएकाले खुसी लागेको बताए।
यसको श्रेय जान्छ पशुपति क्षेत्र विकास कोष र खेम्स क्लिनर्सलाई। विकास कोषसँगको सहकार्यमा खेम्स क्लिनर्सले साढे २ महिनामै पशुपति क्षेत्र सिनिक्क पारेको छ।
‘सफाइ अभियानले हामी जस्ता दर्शनार्थीलाई सास फेर्न सहज भएको छ,’ ३५ वर्षदेखि नियमित दर्शन गर्न आउने गोवर्धन न्यौपानैले भने।
यो अभियानमा दर्शन गर्न आउनेले पनि साथ दिए काम चाँडो र प्रभावकारी हुने उनी बताउँछन्।
‘यसमा भक्तजनले पनि सहकार्य गर्नुपर्छ। नभए त सफा गर्ने गरिरहन्छन्, फोहोर गर्नेले फालिरहन्छन्। ऊ त्यहीँ हेर्नुहोस् न। कर्मचारी सफा गर्दै छन्। अर्कोले फोहोर गरिरहेको छ,’ भुँइमा खसेको फूल उठाउँदै गरेकी एक युवतीलाई देखाउँदै उनले भने।
उनी हुन् दोलखाकी सुस्मिता पोखरेल।
‘जतिबेलै यसैगरी सफा गर्नुहुन्छ?’
‘हो। मन्दिर परिसरमा हामीले एउटा फूल पनि भुँइमा नरहने गरी काम गर्छौं,’ चाबहिल व्रिलियन्ट कलेजमा १२ कक्षा पढ्ने सुस्मिताले भनिन्।
‘कसरी सफाईमा लाग्नु भयो?’
‘खेम्स क्लिनर्सबाट। फेसबुकमा सफाई कामदार मागेको थियो। खेम शर्मा सरसँग भेटघाटपछि यहाँ काममा लागेँ,’ उनले भनिन्।
खेम्स क्लिनर्समा १० जना ‘कमान्ड फोर्स’ कर्मचारी छन्। बिहान ११ बजेदेखि ७ बजेसम्म काम गर्छन्। यति हुँदा हुँदै खेम आफ्नो काममा सन्तुष्ट छैनन्। ‘दुई महिनाभन्दा बढी भयो सफा गर्न थालेको। अझै सफल भएका छैनौं,’ उनले भने, ‘काम निरन्तर जारी छ।’
चितवन भरतपुरका खेम नेपाल बस्दैनन्। अष्ट्रेलिया बस्छन्। जहाँ भए पनि आफ्नो देशको महत्वपूर्ण सम्पदा सफा बनाउने अभियान नरोक्ने उनको भनाइ छ। उनले महिनामा एक हप्ताभन्दा बढी समय नेपालमै बिताउने गरेको बताए।
अभियान पूर्ण सफल बनाउने समय सीमा तोकेका छन्– फागुन १।
‘३७ जना कर्मचारी खटाएर लागि परेका छौं,’ उनले भने, ‘भक्तजनले सबैतिर खाली खुट्टा हिँड्न सक्ने नभएसम्म सफल भएको मान्न सकिन्न।’
अहिले पशुपति क्षेत्र बाहिर बाटो तथा पुनर्निर्माण कामका कारण उडेको धूलोले भने सफाइमा समस्या भएको उनी बताउँछन्। ‘एकातिर वर्षौंदेखि सिमेन्ट जस्तो जमेर बसेको फोहोर अर्कोतिर दिनकै उड्ने धूलो। सफा गर्ने ३०–४० थरिका सामान प्रयोग गर्दैछौं। पहिले र अहिले हेरी त धेरै परिवर्तन भइसकेको छ,’ उनले भने।
खेम तिनै हुन् जसले त्रिभुवन विमानस्थल सफा गरेका थिए। नाक थुन्दै हिँड्नुपर्ने बिमानस्थलको शौचालय टल्काएका थिए।
यही अनुभवले उनी पशुपति सफाइमा लागेका हुन्। तर उनलाई अर्को कठिनाई पनि छ।
विमानस्थलमा उनीहरूले राती काम गरेर थोरै समयमा राम्रो प्रतिफल पाएका थिए। पशुपतिमा भने गर्न नसकेको शर्मा बताउँछन्।
‘राती काम गर्न पाएको भए अहिलेसम्म पशुपति सफा भइसक्थ्यो। अत्यधिक चिसोको कारण सकिएको छैन,’ उनले भने।
काम सानो–ठूलो हुँदैन भन्ने मान्यताका खेम देशको ऐतिहासिक र धार्मिक सम्पदा सफाई गर्न पाउँदा गर्व लागेको बताउँछन्।
‘म नेपालका हरेक सम्पदा र ठाउँ सफा गर्न चाहन्छु,’ उनले भने, ‘कठिनाइ र असहजता हुन्छन्। महत्वकांक्षी लाग्ला। असम्भव भने छैन।’
अब सबै जिल्लाका स्थान सफा बनाउने अभियानमा लाग्ने तयारीमा जुटेको उनले बताए।
‘विमानस्थल, पर्यटन बोर्ड सफा गरेँ। पशुपतिनाथको अवसर मिल्यो। मलाई यी कामले ऊर्जा दिएको छ। लाग्छ म नेपाल नै सफा बनाउन सक्छु।’
यही ऊर्जा सँगालेर उनले नयाँ लक्ष्य लिएका छन्– २०७५ साललाई सफाइ वर्ष मनाउने।
‘यो अभियानमा कलाकार, खेलाडी, गायकदेखि सबैले व्यक्तिगत रुपमा मलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो ऊर्जा खेर जाँदैन। नयाँ सरकारसँगै योजना अगाडि बढाउने तयारी छ,’ उनले भने।
यसका निम्ति पर्यटन बोर्डले सहयोग गर्ने उनले जानकारी दिए। ‘बोर्डका अध्यक्ष दिपक जोशीले नेपालका सबै सम्पदा सफा गर्ने प्रस्ताव गर्नुभएको छ। सरकारसँग मिलेर अभियानमा लाग्नेछु।’
उनका अनुसार यो अभियानमा सफा गर्ने मात्र नभई जनचेतना फैलाउने काम पनि गरिनेछ। त्यसको लागि सरकारको सहकार्य उनले अपेक्षा गरेका छन्।
‘नेपाल सफा गर्ने’ उनको सपना भए पनि जड लक्ष्य अर्कै छ–
सफाई उद्योग स्थापित गरी बैदेशिक रोजगारीमा जाने युवा रोक्नु।
‘म विदेशमा बसे पनि नेपालमै काम गर्ने अवसर पाएको छु। हाम्रा धेरै दाजुभाइ–दिदीबहिनी विदेशमा गएर सफाईकै काम गर्नुहुन्छ। यही कामलाई यहाँ सम्मान र अवसर बनाउने लक्ष्य छ,’ उनले भने।
‘सफाई कै काम किन?’
‘मान्छेको सभ्यता झल्काउँछ। स्वस्थ्य रहन मद्दत पुग्छ। दिमाग नै खुसी हुन्छ,’ उनले भने, ‘हरेक नागरिकले आफ्नो स्थान सफा गर्ने हो भने विस्तारै फोहोर भन्ने चिज नै रहँदैन।’
उनले अमेरिकाको उदाहरण दिए।
‘कुनैबेला अमेरिका नेपाल जस्तै फोहोर थियो। त्यहाँ उत्प्रेरणाले काम गरेको हो। आफ्नो फोहोर आफैैं सफा गर्ने बानी बसालिदैँ गयो भने यो काम जहाँ पनि सम्भव हुन्छ।’
अभियानमा धेरैले साथ दिएकोमा उनी उत्साहित छन्। भन्छन्, ‘पहिला मैले सबैलाई ऊर्जा दिन्थेँ। अहिले मलाई नै दिनुहुन्छ।’
उनलाई अहिले विश्वभरिबाट सहयोग आउन थालेको छ। जसले खेमलाई सकरात्मक थप उत्साहित बनाएको छ।
आफूलाई सहयोग गर्ने र कामको सरहना गर्नेहरूलाई उनी भन्छन्, ‘देशलाई अहिले हामीले केही दियौं भने भोलि हामीलाई देशले दिनेछ। यसमा सबैको साथ जरूरी छ।’