दाङमा ५० हजार रुपैयाँ घुस रकमसहित दुईजना कर्मचारी पक्राउ परेका छन्।
दाङको लमही नगरपालिकामा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली ५० हजार घुस रकमसहित पक्राउ परेको अख्यिारको क्षेत्रीय कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ। यसअघिदेखि नै घर नक्सा अभिलेखिकरणको काममा उनीहरूले सेवाग्राहीबाट घुस लिँदै आएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार उनीहरूलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय कोहलपुरका सूचना अधिकारी चिरञ्जिवी शर्माले बताए।
अख्तियारको टोलीले सव ओभरसियर संगीता श्रेष्ठ र अमिन नेपालीलाई लमही नगरपालिकाको नजिकै रहेको एक होटलमा सेवाग्राहीबाट ५० हजार घुस रकमसहित आइतबार दिउँसो पक्राउ गरेको जानकारी दिएको छ ।
नगरपालिकाले कन्सल्टेन्सी मार्फत घर नक्सा बनाउन कर्मचारीहरू खटाएको भएपनि उनीहरूले त्यसबापत घुस लिँदै आएको गुनासो बढेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको जानकारी दिइएको छ । तर,श्रेष्ठ र नेपालीले आफ्नो बचाउ गर्दै उक्त रकम आफूले घुसस्वरुप नलिएको दाबी गरेको एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।