आइतबार बिहान दाङको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।
आइतबार बिहान ८ : ४५ बजे जिल्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय दाङले जानकारी दिएको हो।
यो वर्षको सबैभन्दा कम तापक्रम आइतबार मापन भएको फिल्ड कार्यालयकी कर्मचारी मधुकुमारी मिश्रले सेतोपाटीलाई बताइन्। तापक्रम यही गतिमा झर्दै गएमा अबको एक दुई दिनमै कम हुँदै माइनसमा झर्ने संभावना उनले औंल्याइन्। आइतबार बिहान ८: ४५ बजेको वायुको तापक्रम १ .० प्रतिशत रहेको र सापेक्षित आद्रता ९८ प्रतिशत रहेको मिश्रले बताइन्।
अझै हप्ता दिन जति जिल्लामा यस्तै चिसो कायमै रहने मिश्रले अनुमान गरेकी छन्। चिसो बढेको भएपनि दाङको पहाडी क्षेत्रमा बिहान ९ / १० बजेपछि पारिलो घाम लाग्ने गरेको छ भने तराई क्षेत्रमा भने बाक्लो हुस्सु लाग्ने हुँदा १२ बजेपछि मात्रै घाम झुल्किने गरेको छ । चिसो अत्यधिक बढेको हुँदा बिहान र बेलुकीपख अत्यावश्यक काम बाहेक घर बाहिर ननिसक्कन चिकित्सकहरूले सुझाएका छन्। बालरोग विशेषज्ञ डा. किशोर खत्रीले जाडोमा सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक समस्यामा पर्ने हुँदा उनीहरूलाई न्यानो कपडा लगाईदिन, तातो र झोलिलो कुरा ख्वाउन सुझाएका छन् ।
चिसो बढेपछि यहाँका बजारका चोक तथा गल्लीहरूमा मानिसहरू आगो ताप्ने गरेको दृष्य देखिन्छ । सहर बजारमा मानिसहरूको उपस्थिति पनि बिहान र बेलुका न्यून देखिन थालेको छ ।