लमहीका स्थानीय महिलाले वडा प्रहरी कार्यालय लमहीमा शनिबार दिनभर धर्ना दिएका छन्। गत पुस ५ गते लमही-५ आर्दश टोलकी ३५ वर्षीय भगवति न्यौपानेलाई कुटपिट गरी सख्त घाईते बनाउने केही व्यक्तिलाई अझैंसम्म प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीय महिलाहरुले प्रहरी कार्यालयमा घेराउ र धर्ना दिएका हुन्।
प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय महिलाले दोषीलाई कारबाहीको दायरामा नल्याए आन्दोलन चर्काउने चेतावनी वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरिक्षक सुरज खड्कालाई दिएका छन्। जवाफमा प्रमुख खड्काले अरू एक दुई दिन धैर्यता गर्न आग्रह गरेका थिए।
पुस ५ गते न्यौंपानेलाई छिमेकी नरबहादुर भण्डारी, उनकी पत्नी र शालीहरू मिलेर निर्घाट कुटपिट गरेका थिए। कुटपिटमा संम्लग्न सबैका विरुद्ध किटानी जाहेरी दिएको भए पनि हालसम्म प्रहरीले मुख्य दोषी भण्डारी पत्नी र सालीहरुलाई पक्राउ नगरी नरबहादुर भण्डारीलाई मात्रै पक्राउ गरेको हुँदा सबैलाई पक्राउ गर्नुपर्ने मागसहित स्थानीय महिला प्रहरी कार्यालय घेराउ गर्न गएका हुन्।
न्यौपानेले आफ्ना पति नरबहादुर भण्डारीलाई हेर्ने र बोल्ने गरेको भन्दै पुस ५ गते बिहान आफ्नै घरमा खाना बनाउँदै गरेकी उनलाई घर भित्रै गएर भण्डारीकी पत्नी शिबा भण्डारी र उनका दिदीबहिनीसहित पाँच जनाले निर्घात कुटपिट गरेको जाहेरी वडा कार्यालय लमहीमा दिएकी थिइन्।
‘घरको बरण्डा र भित्र बाहिर गर्दा पनि मेरो लाग्नेलाई आँखा लगाउछेस् भन्दै अपशब्द बोल्ने, गाली गलौज गर्नेदेखि म माथि ज्यानै मार्ने उदेश्यले आक्रमण भएको हो,’ पीडित न्यौपानेले भनिन्, ‘आशंकै आशंकामा अनाहकमा घर भित्रै पसेर कुटपिट भएपछि न्यायको लागि वडा प्रहरी कार्यालयमा निवदेन हालेकी हुँ।’
अर्कामाथि अनावश्यक आशंका गर्ने तथा कुटपिट गर्नेहरुमाथि कारवाही हुनुपर्ने न्यौंपानेको माग छ।
तर हालसम्म मुख्य दोषिलाई पक्राउ गर्न प्रहरीले आल टाल गरेर बचाउन खोजेको भन्दै लमही नगरपालिका वडा नं. ५ आर्दश टोलका एक सय भन्दा बढी महिलाहरु वडा प्रहरी कार्यालय पुगेर आइतबारसम्म दोषिलाई पक्राउ गरि कानुनी दायरा नल्याएको खण्डमा आन्दोलनमा उत्रने चेतवनी दिएका थिए।