अनुमति बिनानै सामुदायिक वनको माटो उठाउने एउटा डोजर र दुईवटा ट्रिपर समातिएका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगडीमा स्थानीय एक सामुदायिक वनको माटो कसैलाई नसोधी उठाएको हुँदा नियन्त्रणमा लिइएको बताए।
माटो उठाउन प्रयोग भएका ना ७ ख ६४९६ र रा १ ख १४८५ नम्वरका ट्रिपर र रा १ क ४८४ नम्वरको डोजर आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको ईप्रका प्रमुख सापकोटाले बताए।
पक्राउ परेका साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति घोराही दाङमा बिहीवार नै पठाउने तयारी भइरहेको उनले जानकारी दिए। ‘वनका पदाधिकारी तथा अन्य कसैसँग अनुमति नगरी आफूखुसी वनको माटो उठाएको हुँदा कारवाहीका लागि वनका पदाधिकारीले आग्रह गरेपछि प्रहरीले मनपरी गर्ने ती साधनलाई नियन्त्रणमा लिएको हो’ ईप्रका प्रमुख सापकोटाले भने ।