बर्दियासहित पश्चिम नेपालका जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्यांग्रिने जाडो बढेको छ । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बर्दियाकोे जनजीवन प्रभावित भएको छ ।
हुस्सुका कारण धेरै भागमा केही दिनदेखि घाम देखिन सकेको छैन । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ ।
जाडो बढेपछि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ ।
शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् । शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताए ।
‘ठूलो लगानी गरेर खेतमा आलु खेती गर्यौँ, अहिले आएर डढुवाको प्रकोपले बोट कुहिन थालेको छ’ चौधरीले भने, ‘वर्षेनी मंसिर, पुसमा हुने शीतलहरले आलुलगायतका बालीमा डढुवा प्रकोपको समस्या देखिँदा व्यावसायिक तरकारी खेतीमा लागेकाको मनोबल घटेको छ।’
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिएका छन्।
जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका स्वास्थ्यकर्मी देवी खनालले बताए।
जाडोबाट बच्न न्यानो हुने गरी कपडा लगाउनु पर्ने तातो तथा झोलिलो पदार्थ प्रशस्त खाने र अत्यावश्क काममाबाहेक घर बाहिर निस्कन नहुने प्राथमिक स्वास्थ्य चौकीका डा रुपेश ओडले आग्रह गरे।