मल्लकालीन सम्पदा रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णय गरेको छ।
विज्ञ समितिको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। समितिका सदस्य काशीनाथ तमोटका अनुसार पुरातत्वविद्हरूले मंगलबार पोखरीको दक्षिणी डिल खन्नेछन्। रानीपोखरी निर्माणको शैली र सामग्रीबारे अध्ययन गर्न यो उत्खनन् गर्न लागिएको हो।
काठमाडौं महानगरपालिकाले पुनर्निर्माण क्रममा रानीपोखरीको कालो माटो झिकेर डिलमा सिमेन्टको कंक्रिट पर्खाल र पिँधमा टायल बिछ्याउन खोजेपछि विरोध भएको थियो। यस सम्बन्धमा सुझाव दिन विज्ञ समिति गठन गरिएको हो।
उत्खननबाट प्राप्त नतिजा र समितिका सदस्यको राय समेटेर बिहीबारसम्म प्रतिवेदन तयार पारिने तमोटले बताए। उक्त प्रतिवेदन जनस्तरमा सार्वजनिक गरेर सबैको राय लिइनेछ।