आफ्नै पतिको चार औंला काटी पोलेर खाने ६४ वर्षीया रिसमी महतरालाई ज्यान मार्ने उद्योगसम्वन्धी मुद्दा दर्ता भएको छ।
सोमबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा रिसमीका ६४ वर्षीय पति चन्द्रबहादुरलेनै पत्नी विरुद्ध ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दा दर्ता गरेका हुन्।
आफ्नो औंला काटेर खाने पत्नीविरुद्ध कुनै जाहेरी दिने चाहाना नभए पनि प्रहरीकै आग्रहमा उनले मुद्दा दर्ता गराएका हुन्।
चार दिनको उपचारपछि नेपालगञ्जबाट फर्किए लगतै चन्द्रबहादुर ईप्रका पुगेर आफूले पत्नीविरुद्ध कुनै मुद्दा नहाल्ने भन्दै पत्नीलाई आइतबार नै घर लैजान खोजेका थिए। तर, सोमबार प्रहरीको आग्रहमा उनले पत्नीविरुद्ध मुद्दा दाएर गरेका हुन्।
यत्रो ठूलो अपराध गर्नेलाई त्यसै छोड्न नमिल्ने ईप्रका तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रकाश सापकोटाले बताए। ‘मैले एसपीसापलाई सोधेँ र उहाँले पनि माथिल्लो निकायमा सोधपुछ गर्दा पतिको चार औंला काटी पोलेर खाने महिलालाई कसरी छोड्न मिल्छ? भन्ने कुरा आयो,’ उनले भने, ‘त्यसले दण्डहिनतालाई प्रसय दिन खोजेको जस्तो देखिने हुँदा कानुन व्यवसायीको सल्लाहामा चन्द्रबहादुरले मुद्दा हालेका हुन्।’
रिसमीलाई मंगलबार अदालत पठाउने तयारी प्रहरीले गरेको छ। रिसमी अब ५/६ दिन जति अझैं प्रहरी कै थुनामा रहनेछन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ झमके निवासी ६४ बर्षीया रिसमी महताराले आफ्नै पति चन्द्रबहादुरको पुस १२ गते साँझ घरमा दायाँ हातका चारवटै औंला छिनालेर अगेनामा पोलेर खाएकी थिइन्।
उक्त दिन पति पत्नी दुबैले मदिरा सेवन गरेका कारण उक्त घटना भएको अुनमान प्रहरी र समाजले गरेको छ।