तुलसीपुर उपमहानगर कार्यपालिकाको आइतबारको बैठकले टरिगाउँ एयरपोर्ट सञ्चालन गर्न तत्कालका लागि नेपालगञ्जबाट इन्धन ल्याउने निर्णय गरेको छ। टरिगाउँ एयरपोर्टमा विमान सेवा सञ्चालनका लागि पहल कदमी लिएको उपमहानगरले इन्धनका वारेमा यस्तो निर्णय गरेसँगै विमान सेवा सञ्चालनका लागि बाटो खुलेको हो।
यही पुस २३ गतेदेखि तुलसीपुरदेखि काठमाडौसम्म सिधा हवाइ सेवा सञ्चालनको तयारी भइरहेको समयमा आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। यसैगरि इन्धन डिपो सञ्चालन गर्नका लागि उपयुक्त जग्गाको खोजि गर्न कार्यपालिकाको वैठकले उप समिति समेत बनाएको प्रवक्ता श्याम डाँगीले बताए। उनले तत्कालका लागि सातामा दुई पटक विमान सेवा सञ्चालन गर्ने निर्णय गरेको समेत बताए।
इन्धन डिपो सञ्चालनका लागि बैठकले ९ सदस्यीय उपसमिति समेत बनाएको छ। जसका सदस्यमा वडाध्यक्ष सूर्यबहादुर डाँगी, नवराज लामिछाने, टोपवहादुर केसी, कुमार लामिछाने, घनश्याम ढकाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरवहादुर रावत, तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञवहादुर केसी नगरपालिकाका इन्जिनियर पवन योगी छन्। समितिलाई दुई हप्ता भित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ।
यसैगरि टरिगाउँ विमानस्थलको धावनमार्ग साँघुरो भएकाले ठूला जहाजको उडान भर्नका लागि एयरपोर्ट विस्तारको विकल्पको खोजि गर्ने निर्णय गरेको पनि प्रवक्ता डाँगीले बताए। राप्तीलाई पर्यटकको हवका रुपमा विकास गर्न सके विमान सञ्चालनको केन्द्रका रुपमा टरिगाउँ विमानस्थल रहने भएकाले पर्यटकीय विकासका लागि पहल गर्ने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको छ।