दाङमा एक जना युवाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ६ बरूवागाउँ निवासी १९ वर्षीय वशन्त वली बंगलाचुली गाउँपालिका वडा नं. ४ शिरबारीस्थित झाडीमा मृत अवस्थामा फेला परेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।
वलीको शरीरको घाउ खत हेर्दा उनको हत्या भएको प्रारम्भिक अनुमान गरिएको एसपी सिंहले सेतोपाटीलाई बताइन्।
घटनाबारे अनुसन्धान जारी रहेको र पोष्ट मार्टम पछि एकिनका साथ भन्न मिल्ने उनले जानकारी दिइन्।
यसैबीच नेपाली कांग्रेसका साविक कार्भे गाविसका सभापति जागेश्वर अधिकारीले मृतक वलीको शरीरै भरी निलडाम र घाउचोट मात्रै देखिएको जानकारी दिए। मृतक वलीको शरीरको तल्लो भागमा पाइन्ट लगाएको अवस्थामा शव फेला परेता पनि माथिल्लो भागको कपडा खोलेका अवस्थामा फेला परेको, जिउभरी निलडाम देखिएको र अनुहार भने ज्याकेट फुकालेर छोपेको अवस्थामा फेला परेको जानकारी दिए।
यसैबीच मृतक वलीसँगै रहेका उनका मामा २४ वर्षीय भोजराज महराको अवस्था हालसम्म अज्ञात रहेको जानकारी दिइएको छ। मामा भान्जा ६ दिनदेखिसँगै बस्दै आएका थिए। दुई दिन मामाको घरमा बास बसेपछि थप दुई दिन उनीहरु घोराहीस्थित मृतक भान्जाको घरमा बास बसेर फेरि बंगलाचुलीस्थित मामाको घरजान भनि घोराहीबाट चार दिन पहिले हिडेका थिए।
बिहीबार चार दिन पछि भान्जा वलीको शव फेला परेको भए पनि माआ महराको अवस्था हालसम्म अज्ञात रहेको विश्वसनीय स्रोतले बताएको छ।
मामाको अत्तोपत्तो नरहेका तर भाञ्जाको शव भने झाडीमा चारदिनपछि फेला परेको स्रोतले जानकारी दिएको छ।
शव बिहीबार बिहान दश बजे नै फेला परे पनि शवको पहिचान गर्दा र प्रहरीले मुचुल्का उठाउँदा बेलुका पाँच बजेमात्रै त्यहाँबाट वलीको शव उठाएर घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पोष्ट मार्टमाका लागि पुर्याइएको थियो।
जिल्लास्थित उच्च प्रहरी स्रोतले वलीको हत्या भएको बताउँने गरेता पनि उक्त घटनावारे तथ्य अझैं सार्वजनिक गरेको छैन।