दाङमा बाघको हड्डीसहित तीन व्यक्ति पक्राउ परेका छन्।
पश्चिम दाङको बबई गाउँपालिका–वडा नं. ४ हापुरेमा झण्डै तीन किलो बाघको हड्डीसहित तीन व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने मध्ये एकजना सल्यान जिल्लाका छन् भने दुईजना स्थानीय रहेका छन्। बबई गाउँपालिका –४ सुन्दरखाल निवासी ५९ वर्षीय पूर्णबहादुर हमाल, कासिराम विक र सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षीय चन्द्रबहादुर वलीले बाघको छाला विक्री गर्न खोजेको भन्ने गोप्य सूचनाको आधारमा बिहिबार बेलुका सवा ६ बजेतिर पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय खीलतपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिए।
बाँके जिल्लाबाट आएको सादा पोसाकका क्षेत्रीय व्यूरो टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ गरेको हड्डी सल्यानबाट दाङ ल्याइएको हो कि दाङबाट सल्यान लैजान खोजिएको हो? भन्ने एकिन अनुसन्धानपछि गर्न सकिने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूका बारेमा अनुसन्धान जारी रहेको र आवश्यक कारवाहीको लागि शुक्रबार जिल्ला वन कार्यालय, दाङमा पठाउने तयारी भइरहेको शाहले सेतोपाटीलाई बताए ।