जिल्ला प्रहरी कार्यालय दाङले यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमै अलपत्र छोडेर हिड्ने एउटा बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।
बाँकेको नेपालगञ्जदेखि दाङको घोराही आउने क्रममा बिहिबार साँझ यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमै यात्रु छोडेर घोराही पुगेको राप्ती अञ्चल सार्वजनिक बस व्यवासायी समितिको ना ७ ख ३८७ नम्वरको बसका चालक र सहचालकलाई पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताइन् ।
‘घोराहीको मसिनासम्म छोड्दिने सहमतिमा बाँकेबाट यात्रु ल्याएर घोराहीको ट्राफिक चोकमा रातिमा ४/ ५ किलोमिटर टाढै अलपत्र छोडेर भागेको गुनासोको आधारमा पक्राउ गरिएको हो,’– एसपी सिंहले भनिन् ‘आज पीडित यात्रु र सवारीधनी तथा चालकहरूलाई राखेर छलफलपछि आवश्यक कारवाही हुन्छ।’
छिमेकी देश भारतको हिमाञ्चल प्रदेशबाट प्यूठानको स्वर्गद्वारी दर्शन गर्न जान भनि आएका तिर्थयात्रुलाई रातको समयमा गन्तव्यसम्म नपुर्याई बीचबाटो मै छोडेर भागेको अभियोगमा चालक र सहचालक महेश घर्ती मगर र तिलक खत्रीलाई राति नै गाडिसहित पक्राउ गरेर ल्याएको एसपी सिंहले बताइन्।
बसका चालक र सहचालकले पाँचजना व्यक्तिले बन्दोबस्तीका लागि ल्याएका सामानसमेत नदिएर गएको हुँदा रातको समयमा घोराही बजारमा खोजेर पार्किङ गरेर राखेको बस र चालक तथा सहचालकलाई उठाएर ल्याएको एसपी सिंहले बताइन्।
पुसको अन्तिमदेखि माघ स्नान गर्न छिमेकी देश भारतबाट ठूलो संख्यामा दाङको रिहार र प्यूठानको स्वर्गद्वारी मन्दिरमा आउने गर्छन्। ‘उनीहरू पनि हिमाञ्चलबाट आएका रहेछन्। दाङको घोराही र रोल्पाको होलेरी हुँदै पैदल हिडेर प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शनमा जान लागेका तीर्थ यात्रु भएको खुल्न आएको छ,’– एसपी सिंहले भनिन्, ‘विदेशबाट आउने सोझा/ साझा पाहुनालाई रातको समयमा यसरी अलपत्र पार्नु सवारी चालकको गल्ती हो।’
उनीहरू बाँकेको धम्वोजीचोकबाट प्रतिव्यक्ति साढे दुईसय भाडा तिरेर घोराहीको मसिनासम्म पुर्याई दिने सहमतिमा बसमा आएको भएपनि गाडि स्टाफले घोराही आउँदा अतिरिक्त पैसा मागेपछि उनीहरूले दिन नमान्दा बीचमै छोडेर हिडेको भन्ने कुरा सुन्नमा आएको एसपी सिंहले बताइन्। तथ्य के हो? त्यो छलफलपछि थाहा हुने उनले बताइन् ।