‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा बिहिबारदेखि १९ औँ सडक महोत्सव सुरू भएको छ। रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ।
लेकसाइडको हल्लनचोकबाट सुरू विभिन्न साँस्कृतिक झाँकीसहितको र्यालीले कोमागाने पार्क पुगेर औपचारिक रूपमा सुरू भएको छ । महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरेका छन्। पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन भएको छ। विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरू रमाएका थिए।
खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेछन् । महोत्सवलाई लक्षित गरि लेकसाइड क्षेत्रलाई दुलहीझैँ सिँगारिएको छ। १७ गतेसम्म सञ्चालन हुने महोत्सवस्थलको विवाह घर जस्तै रङ्गीचङ्गी भएको छ। महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिएको छ। अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेको छ ।
नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रूपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको आयोजकतर्फबाट रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए। पाँचदिने सडक महोत्सवमा जापान, चीन, दक्षिण कोरिया र भारतका साँस्कृतिक कार्यक्रमका साथ सातवटै प्रदेशका साँस्कृतिक समूहले साँस्कृतिक नृत्य प्रस्तुती रहने छ ।
प्रदेश नम्बर–१ बाट सतार जातिको साँस्कृतिक कार्यक्रम, प्रदेश–२ बाट मैथली कार्यक्रम, प्रदेश–३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डडेल्धुराको देउडा जातिको साँस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइने आयोजकले बताएका छन् ।
त्यसैगरी, छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् । सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सवस्थलमा गरी झन्डै ५० करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान छ ।