प्रदेश नं ५ का प्रमुख प्रहरी नायब उपरीक्षक मधुप्रसाद पुडासैनीले राजमार्गमा बिग्रिएका सवारी साधन तत्काल हटाउन मातहतका इकाईलाई निर्देशन दिएका छन्।
एक अपिल जारी गर्दै उनले सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीलाई सचेत तुल्याएका छन्। ‘बाटोमा कुनैपनि सवारी साधन बिग्रिएर रोकेको भएमा त्यसलाई तुरुन्तै हटाउन मैले मातहतका प्रहरी इकाईलाई निर्देशन दिएको छु’,एआईजी पुडासैनीले सेतापाटीलाई भने ‘बाक्लो हुस्सु लाग्ने यो समयमा बाटोमा रोकेर राख्ने साधनकै कारण दुर्घटना हुन नपाअोस् भन्ने उद्धेश्यले त्यस्तो निर्देशन दिएको हुँ।’
उनले प्रहरी वा ट्राफिक प्रहरीको नजर नपुगेको भएपनि राजमार्ग वा व्यस्त सडकमा कतै सवारी साधन रोकिराखेको भएमा आफूलाई खबर गर्न सर्वसाधारण नागरिकलाई पनि आग्रह गरेका छन्। ‘त्यस्तो खबर पाउन बित्तिकै मताहतका इकाईलाई परिचालन गरि तत्काल त्यस्ता रोकिराखेका साधन हटाउन लगाउने छु’ एआईजी पुडासैनीले भने ‘हुस्सु लाग्ने समयमा व्यस्त राजमार्ग वा बाटोहरूमा थन्काए राख्ने सवारी साधनका कारण धेरै दुर्घटना हुने हुँदा त्यो रोकियोस् भन्नेतर्फ ट्राफिक सचेत हुन आवश्यक छ।’
यसैबीच, पुडासैनी प्रदेश प्रहरी प्रमुखको रूपमा दाङको तुलसीपुर आएलगत्तै ५ नं. प्रदेशका १२ अोटै जिल्लाहरूमा सञ्चालनमा रहेका ट्रयाक्टरहरूमा रिफ्लेक्टर स्टीकर राख्न निर्देशन दिएका थिए।
उनका अनुसार पुस १ गतेदेखि बिहिबारसम्म २ हजार ८ सय ४९ वटा ट्रयाक्टरहरूमा रिफ्लेक्टर स्टीकर टाँसी सकेका छन्। त्यसैगरी, प्रदेश नं. ५ मा सञ्चालनमा रहेका ट्रयाक्टरमध्ये ३ सय ५ अोटामा नयाँ नं. प्लेट राख्न लगाइएको जानकारी एआईजी पुडासैनीले दिए। तराईमा हिउँदो सयमा बाक्लो हुस्सु लाग्ने भएको हुँदा संभावित दुर्घटना न्यूनीकरणको लागि चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको एआईजी पुडासैनीले बताए।
चालकहरूलाई हुस्सु लाग्ने अविधमा विस्तारै सवारी चलाउन आग्रह गर्ने, बाक्लो हुस्सु छ भने केही समय आराम गरेपछि तथा हुस्सु कम भएपछि मात्रै यात्रा गर्न आग्रह गर्ने जस्ता गतिविधि सञ्चालन गरिएको पुडासैनीले बताए। ‘सानो तिनो लापरवाहीले गर्दापनि दुर्घटना हुन सक्ने हुँदा त्योबाट जोगिने मातहतका इकाईलाई निर्देशन दिइएकोछ,’ पुडासैनीले फोनमा भने‘ बिग्रिएर बाटोमा रोकेका गाडि कतै देखेमा खबर गर्नुहोस् म तत्कालै त्यो हटाउन लगाउने छु।’