दाङमा एकजना महिलाले लोग्नेको हातका चार ओटा औंला काटेकी छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमेक निवासी ६४ वर्षीया रिसमी महतराले आफ्नै ६४ वर्षीय पति चन्द्रबहादुर महताराको चारओटा औंला काटी पोलेर खाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
रिसमीले बुधबार बेलुका साढे ६ बजेतिर भमकेस्थित घरमै पति चन्द्रबहादुरको दायाँ हातको बुढी औंला बाहेक अन्य सबै औंला गरासीले काटेको डिएसी सापकोटोले बताए। उनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते चन्द्रबहादुरको अवस्था गम्भीर भएको हुँदा राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको प्रहरीले जानकारी दिएको छ।
घटना बिहीबार बिहान मात्रै थाहा पाएको र बिहान मात्रै उपचारका लागि अस्पताल ल्याइएको पनि प्रहरीले जानकारी दिएको छ। रिसमीका अनुसार उनका पतिले सधैँ मदिरा सवेन गरि यातना दिने गरेको र बुधबार पनि मदिराले मातेर मनपरी गर्न थालेपछि आवेगमा आएर पतिको चारओटा औंला काटी पोलेर खाएको प्रहरी समक्ष बयान दिएकी छन्।
रिसमी चन्द्रबहादुरकी पहिलो श्रीमती हुन् भने चन्द्रबहादुरले उनीपछि ६ जनासँग बिहे गरको पनि रिसमीले बताएकी छन्। तर, हाल चन्द्रबहादुरसँग रिसमी बाहेक अरु कुनैपनि श्रीमती छैनन्।
घरमा पतिपत्नी मात्रै एक्लै बस्दै आएका थिए। बुढेसकालमा पनि मदिरा खाएर दिनहुँ यातना दिन थालेपछि बाध्य भएर यस्तो कदम चाल्न परेको उनले प्रहरी समक्ष बयान दिएकी छन्।