दाङको तुलसीपुरका ६ जना १४ वर्षीया दलित बालिकाहरू पोखरामा रहेको खुल्न आएको छ। चारदिनदेखि सम्पर्कविहिन बालिकामध्ये केहीले सामाजिक सञ्जालमार्फत आफूहरू पोखराको होटलमा रहेको अवगत गराएको अभिभावकले प्रहरीलाई जानकारी दिएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी ६ दलित बालिका सम्पर्कविहिन भएपछि उनीहरूका अभिभावक मंगलबार प्रहरीमा पुगेर खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले बुधबार बिहानै बालिकाहरू पोखराको होटलमा रहेको भन्ने सूचना प्राप्त भएको जानकारी दिए।
‘फेसबुकमार्फत केहीले अभिभावकलाई आफूहरू पोखराको होटलमा रहेको बताएका रहेछन्। ‘अहिले सबै अभिभावकलाई इप्रका बोलाएको छु, सूचना सत्य ठहर भएमा उनीहरूको उद्धार तत्काल गर्न लाग्नेछौं’ डिएसपी सापकोटोले भने।
‘केही बालिकाले आफूहरूलाई तुरुन्त उद्धार गर्न आग्रह गरेको भन्ने कुरा छ, हामी अनुसन्धान गर्छौं र सत्य भए तत्काल उद्धारमा लाग्नेछौं’ सापकोटोले सेतोपाटीलाई भने। तुलसीपुरका ६ जना बालिका ४ दिनदेखि सम्पर्कविहिन रहँदै आएका छन्। ६ जनामध्ये अधिकांश स्कुले विद्यार्थी हुन्। आइतबार बिहानै विद्यालयमा ट्यिूशन पढ्न भनि घरबाट गएका छोरीहरू सम्पर्कविहिन रहँदा परिवारजन चिन्तित बनेका छन्। उनीहरूमध्ये कतिपयको झोला र विद्यालयको पोशाक भने कमला विकको घरमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अभिभावकको आग्रहमा तुलसीपुरकै केही आशंका गरिएका होटलमा प्रहरीले खोज तलास गर्दा उनीहरू फेला नपरेको प्रहरीले मंगलबार जानकारी दिएको थियो। हराइरहेका बालिकाबारे अनुसन्धान जारी रहेको प्रहरी नायव निरीक्षक रामबहादुर जिसीले जानकारी दिए।