दाङ तुलसिपुरका १४ बर्ष उमेरका ६ जना बालिका तीन दिनदेखि बेपत्ता भएका छन्।
एकै पटक ६ जना बालिका बेपत्ता भएपछि आफन्तले मंगलबार प्रहरीलाई खोजिदिन आग्रह गरेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक रामबहादुर जिसीका अनुसार पुस ९ गते बिहान (आइतवार) देखि उनीहरू ६ जनै बेपत्ता भएको भन्ने जाहेरी अभिभावकले प्रहरीमा दिएका छन्।
बेपत्ता हुनेमा तुलसीपुरको बसपार्क निवासी १४ वर्षीया कमला विक, सोही ठाउँकै १४ वर्षकै शर्मिला विक, वसपार्क निवासीनै १४ वर्षकै अन्जना गन्दर्भलगायत छन्।
बेपत्ता ६ मध्ये अधिकांश स्कुलबाट घर नफर्किएको प्रहरी नायव निरीक्षक जिसीले जानकारी दिए। आइतबार बिहानै विद्यालयमा ट्यूसन पढन् जान्छौ भनि घरबाट हिँडेका छोरीहरु तीन दिनसम्म पनि सम्पर्क बिहिन हुँदा परिवारजन चिन्तित छन्।
उनीहरु मध्ये कतिपयको झोला र विद्यालयको पोशाक कमला विकको घरमा फेला परेकोसमेत प्रहरीले जानकारी दिएको छ। अभिभावकले आशंका गरेका तुलसीपुरका केही होटेलमासमेत प्रहरीले छापा मारेर खोजी गरे पनि फेला नपरेको र उनीहरु बारे अनुसन्धान जारी रहेको प्रहरी नायव निरीक्षक जिसीले सेतोपाटीलाई बताए।
प्रहरीले बालिकालाई ललाई फकाई यौंन शोषण भएको हुनसक्ने आशंका गर्दै खोजी तीव्र पारेको जानकारी दिएको छ।