विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो।
धार्मिकस्थललाई सोही वातावरणमा रहन दिन मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो। यसलाई धार्मिक वातावरण कायमै राख्न पनि सवारी साधन प्रदेशमा रोक लगाइएको कोषको भनाइ छ। एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन ।
मन्दिरमा जाने तीर्थयात्रीहरूको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ। स्थानीयवासीहरूको हकमा भने वडा कार्यालयसँग समन्वय गरेर सवारी साधन पासको व्यवस्था मिलाइएको पनि कोषका सदस्य सचिव ढकालले जानकारी दिए।
यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपतिनाथ मन्दिरको कोर क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।
प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ।
पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ ।
मंगलबारबाटै पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । पार्किङका लागि वनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।
ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट वनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।
फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको पर्यटकीयस्थल ठमेलमा पनि सवारी साधन प्रवेशमा रोक लगाइएको सकेको छ ।