दाङ तुलसीपुरको पातुखोलामा झुलुङ्गे पुल निर्माण भएपछि हजारौं सर्वसाधारण लाभान्वित भएका छन् । ५० लाख बढीको लागतमा निर्मित उक्त पुल ७० मिटर लम्वाईमा निर्माण गरिएको छ।
यो झुलुङ्गे पुलले तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३, ७ र ९ का हजारौ स्थानीयलाई आवात जावात गर्न सजिलो भएको छ। पुल निर्माणपछि सबैभन्दा धेरै स्कुले बालवालिका, जेष्ट नागरिक बढी लाभान्वित भएका छन्।
सोमवार उद्घाटन भएको पुल सेवा प्रतिष्ठान नेपालको ४५ लाख , साविक जिल्ला विकास समितिको २ लाख आठ हजार, समुदायको १ लाख बराबरको श्रमदान र साविक तुलसीपुर नगरपालिकाको एक लाख गरी झन्डौ ५० लाख १७ हजारको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको छ।
पातु खोलामा पुल नहुदा बर्षेनी आवत जातमा समस्या भोगेका स्थानीयहरुले पातुखोलमा पुल निर्माण सँगै आफूहरूले भोग्दै आएको जोखिम र सास्ति अन्त्य हुने धारणा व्यक्त गरेका छन्। ‘वर्षातको समयमा ओहोर दोहोर गर्न ज्यान बाजी लगाउनु पर्दथ्यो । अब त्यो जोखिम समाप्त भयो ।’ स्थानीय रेश्मी वलीले भनिन् । पुल नुहँदा सम्म आकास हेरेर बजार जाने नजाने निधो गर्नुपर्ने बाध्यता रहेको वलीले अनुभव साटिन्।
‘काम विशेषले तुलसीपुर जानुपर्दा कपुरकोट आसपासमा बादल हेर्नु हाम्रो बाध्यता थियो र सानो पानी पर्दासमेत मन आत्तिन्थ्यो । तर अब पुल बनेपछि ढुक्क भयो,’ वलीले खुसी साट्दै भनिन् । त्यस्तै बर्षामा बच्चा बच्चीलाई विाद्यालय पठाउँदा जहिलै चिन्ता लाग्ने गरेको उनले बताइन्।
स्थानीय जेष्ट नागरिक पवित्रा विकले पनि पुल निर्माण भएको खुसी साटिन्। ‘वृद्ध भत्ता लिन तुलसीपुर जान समस्या थियो, वर्षा लाग्यो भने कि बसपार्कको पुल तरेर तुलसीपुर जानुपर्ने होइन भने हिउँद नै कुर्नुपर्ने अप्ठेरा थियो अब ति अप्ठेरा दिन अन्त्य हुनेछ,’ विकले भनिन्.
पुल उद्घाटनमा आएकी कक्षा १ मा अध्यनरत पार्वती पुनलले पुल निर्माण भएको हुँदा अब आफु एक्लै पनि विद्यालय आउन जान सक्ने बताइन । ‘ यही खोलाको डर थियो अब म एक्लै विद्यालय आउन जान सक्छु ।’ उनले भनिन् । धेरै दिन पातुखोलामा आउने बाढीकै कारण आफु विद्यालय जान नसक्दा पढाई छुटेको उनले बताइन । दाङ सुगम जिल्ला मानिएता पनि तुलसीपुर र घोराही उपमहानगरका कतिपय पहाडी वडाहरुमा अझैंसम्म यातायातको पहुँच विस्तार हुन सकेको छैन