सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोटको बञ्चरेडाँडामा एकीकृत फोहरमैला व्यवस्थापनको काम सुरू गरेको छ।
लगानी बोर्डले काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लाका स्थानीय निकायसँग सहकार्य गरेर काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा फोहरमैला व्यवस्थापनका लागि प्रशोधित प्लान्टसहितको व्यवस्था गर्ने कामलाई अघि बढाएको हो।
३ वर्षभित्र फोहरबाट ग्यास र मल समेत उत्पादन हुने गरी प्रशोधित प्लान्ट निर्माणको काम समेत सुरू गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। यो आयोजना निर्माणका लागि ८ अर्ब रुपैयाँ लगानी हुनेछ। प्रमुख कार्यकारी अधिकृत अधिकारीले यो आयोजना सम्पन्न गर्नका लागि निजी, सहकारी र सरकारी ३ वटै क्षेत्रको लगानी हुने पनि स्पष्ट पारे।
लगानी बोर्डले यो आयोजना सम्पन्न गर्नका लागि परियोजना विकास सम्झौताको कामलाई अन्तिम चरणमा पुर्याएको छ। परियोजना संचालनका लागि २० वर्षको अवधि तोकिएको छ। यो आयोजना सम्पन्न गर्ने जिम्मेवारी भने नेपवेष्ट प्रालिलाई दिइएको छ।
यो आयोजनाबाट नेपाल सरकारलाई वार्षिक ३ अर्ब रोयल्टी रकम उपलब्ध गराउने सहमति पनि गरिएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यो आयोजनाबाट काठमाडौं उपत्यकाको फोहरबाट मोहर बनाउने संकल्पलाई पूरा गर्न सकिने पनि स्पष्ट पार्नु भयो ।