दाङ देउखुरीको राप्ती नदी किनारमा फेला परेको शवको पहिचान भएको छ।
मृतक गढुवा गाउँपालिका वडा नं. ३ जेठान गाउँ निवासी ४० वर्षीया निर्मला थारु कुमाल रहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहले अत्यधिक मदिरा सेवन गरि चौधरीले राप्ती नदी तर्न खोज्दा डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताइन्।
‘स्थानीय गाउँलेहरूका अनुसार निर्मला अत्यधिक मदिरा सेवन गर्ने महिला भएको भन्ने रिर्पोट प्राप्त भएको छ,’ एसपी सिंहले भनिन्। मातेको समयमा राप्ती नदी तर्न खोज्दा डुबेर चौधरीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको उनले बतान्।
‘शवमा घाउ खत केही पनि देखिएन र बुझ्दै जाँदा निर्मला मदिराको अम्मली भएको भन्ने खुल्न आएको छ’ एसपी सिंहले भनिन्। उनी बेपत्ता भएको ४ दिनपछि मृत अवस्थामा फेला परेकी हुन्। निर्मलाका श्रीमान् र छोरा भने छिमेकी जिल्ला कपिलवस्तुको एउटा इट्टा उद्योगमा मजदूरी गर्छन्। उनीहरूलाई शव बुझ्नका लागि बोलाइएको प्रहरीले बताएको छ ।