ऐरावती गाउँपालिका–३ अर्जाम पकला प्यूठानकी ७३ वर्षीया हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल विजुवारमा बिहिबार मृत्यु भयो। लामोसमयदेखि श्वासप्रश्वासको बिरामी उनलाई छोरी राधा विकले बुधबार उपचारका लागि अस्पतालसम्म पुर्याएकी थिइन्। हुमीको मृत्यु उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालमै भएको थियो।
विक परिवारको घर जिल्ला अस्पताल विजुवारदेखि करिब चार घण्टाको दूरीमा छ। राधाले ऋण काढेर ल्याएको सबै पैसा उपचारमै सकिएको थियो। आमाको मृत्युले विक्षिप्त बनेकी राधालाई झनै अर्काै सकस थपियो । किनकि, राधासँग आमाको शव घरसम्म लैजानका लागि एम्वुलेन्समा लैजाने पैसा थिएन।
त्यसैले राधाले प्यूठान नगरपालिका विजुवारस्थित झिमरुक नदी किनारमा आमाको शव गाड्ने निधो गरिन्। आमाको शव घरसम्म लैजान पैसा नभएर एउटी छोरीले बाटो मै शव गाड्ने तयारी गरेको हल्लापछि स्थानीय केही महिला त्यहाँ जम्मा भएका थिए। शव गाड्नका लागि तयारी हुँदै थियो। शव गाड्नलाई आवश्यक पर्ने खाडल खन्ने औजार पनि उनीहरूसँग थिएन।
त्यसैले, मंगला विकले इलाका प्रहरी कार्यालय विजुवारमा पुगेरे खाडल खन्नको लागि आवश्यक औजार गैंती, फरुवा ल्याउन मद्दत गरिन् । शव गाड्ने तयारी गरिएको स्थान प्यूठान नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालय नजिकै थियो ।
र, संयोगले त्यही बाटो भएर प्यूठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी जाँदै थिए।
उनले त्यो दृष्य नियाले। जहाँ केही महिला हातमा गैंती, फरुवाले खाडल खनिरहेका थिए। त्यो दृष्य देखेपछि आश्चर्य मान्दै राजभण्डारी सोधीखोजी गर्न त्यहीँ पुगे । त्यसपछि उनले रकम अभावमा घरसम्म शव लैजान नपाएपछि छोरी राधाले आमाको शव त्यहीँ गाड्ने तयारी गरेको भन्ने जानकारी पाए । त्यो सबै सुनेर राजभण्डारीको मन भक्कानियो र तत्कालै फोन गरेर त्यही एम्वुलेन्स मगाए । राजभण्डारीले ‘शवबहान’ मार्फत शव घरसम्म पुर्याउन पहल गरे। शववहानमा आमाको शव घरसम्म लैजान पाएपछि थोरै भएपनि राधाको अनुहारमा खुसी छाएको देखिन्थ्यो ।
वडाअध्यक्ष राजभण्डारीले जनज्योती सामुदायिक विकास केन्द्रसँग समन्वयन गरेर शव पुर्याउन व्यवस्था मिलाएका थिए।‘शव घर सम्म पुर्याउने रकम नभएरै शव गाड्न खोजिएको रहेछ’,राजभण्डारीले फोनमा भने,‘ र मैले त्यो थाहा पाएर घरसम्म निःशुल्क रुपमा शव पुर्याइदिने व्यवस्था मिलाएको हुँ ।’ वडा अध्यक्षको सहयोगले घरसम्म आमाको शव पुर्याएर हिन्दुपरम्परा अनुरुप अन्तिम दाहसंस्कार गरेकी भएपनि छोरी राधालाई अब किरिया खर्च कसरी जुटाउने? भन्ने चिन्ताले सताएको छ ।
‘बुबा पन्ध्र वर्षअघि नै वित्नुभयो। घरमा आमा एक्लै बस्नुहुन्थ्यो । हेरचाह गर्ने कोही थिएनन् । महिनौसम्म आमा ओछ्यानमै थला परेको खबरपछि छिमेकी देश भारतबाट आमाको उपचारका लागि फर्केर प्यूठान आएकी हुँ ’ राधाले फोनमा भनिन् । आफूले नै माइती घर पुगेर थला परेकी आमालाई उपचारका लागि अस्पताल पुर्याएको जानकारी दिइन्।
‘ऋण खोजेर ल्याएको पैसा उपचारमै सकियो’, राधाले भनिन् ‘माइतीसम्म आमाको शव लैजाने मसँग पैसा थिएन, त्यसैले बाध्य भएर स्थानीय दिदी बहिनीलाई गुहार मागेर विजुवारमा आमाको शव गाड्ने तयारी गर्दै थिए।’ आफूहरूले जिल्ला अस्पतालदेखि करिब आधा घण्टाको दूरीसम्म ‘स्टेचर’मा शव बोकेर झिमरुक नदी किनारसम्म पुर्याएको राधाले बताइन्। केही वर्ष पहिलेसम्म त्यस क्षेत्रमा शव गाड्ने प्रचलन रहेपनि तर त्यो प्रचलन अहिले हट्दै गएको छ।