एलपी ग्यास उद्योग संघले वीरगंजस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीको छानबिन गर्न संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।
ग्यास उद्योगमा आगलागी भएपछि बुधबार काठमाडौंमा बसेको संघको आकस्मिक बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई ५ दिनभित्र घटनाबारे सत्यतथ्य विवरणसहितको प्रतिवेदन बुझाउने कार्यादेश दिइएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।
संघले बुधबार मध्यान्हसम्म ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा आएको पनि जनाएको छ। ग्यासको बुलेट अनलोड गर्ने क्रममा आगलागी भएको हुन सक्ने संघको प्रारम्भीक अनुमान छ।
बुधबार बिहान वीरगंजको पटेलनगरमा रहेको सो ग्यास उद्योगको आगलागी नियन्त्रण गर्न गएको दमकल समेत जलेर नष्ट भएको छ । घटनाको विस्तृत विवरण भने अझै आउन सकेको छैन ।