पाटनमा सात सय वर्षअघि एउटा पोखरी निर्माण भएको थियो– पिम्बहाल।
यही पोखरीका आधारमा साढे तीन सय वर्षपहिले काठमाडौंमा अर्को पोखरी बन्यो– रानीपोखरी।
यी दुवै २०७२ को भुइँचालोमा भत्किए।
पिम्बहाल पुनर्निर्माण ललितपुर महानगरपालिकाले केही साताअघि सकेको छ। भत्किनुअघिको स्वरूपमा होइन, एक सय ६५ वर्षअघि जर्मन चित्रकार तथा चिकित्सक जोन हेनरी एम्ब्रोसले बनाएको तस्बिरको स्वरूपमा। तस्बिरमा पिम्बहालको प्राचीन स्वरूप छ।
यता रानीपोखरी पुनर्निर्माण भने ‘आधुनिक शैली’ मा हुँदैछ।
पुरातात्विक महत्वका सम्पदा संरक्षण मात्र होइन, आधुनिकता पनि आत्मसात् गर्नुपर्ने महानगर मेयर विद्यासुन्दर शाक्यको भनाइ छ।
‘पुरातात्विक सम्पदा संरक्षण गर्नुपर्छ, तर पुरानो भनेर मात्र हुँदैन,’ उनले भने, ‘आधुनिकतातर्फ अग्रसर हुनुपर्छ। हिजो जे थियो त्यो मात्र होइन, विकासका आधुनिक पूर्वाधार अपनाउँदै लानुपर्छ।’
यो आधुनिक मोहको पुरातत्व तथा सम्पदाविद् र अभियन्ताहरूले विरोध गरिरहेका छन्। पुनर्निर्माणका नाममा महानगरले काठमाडौं सभ्यता झल्काउने यस्ता सम्पदा ‘विनाश’ गरिरहेको उनीहरू बताउँछन्।
महानगरले ‘आधुनिक’ योजनाअनुसार रोडा, सिमेन्ट, बालुवा प्रयोग गरेर रानीपोखरी बनाउँदैछ। धमाधम कंक्रिट पर्खाल लगाउँदैछ। म्युजिकल वाटर फाउन्टेन बनाउने भएको छ। यहाँ चिया–कफी पसल खुल्नेछन्। बस्न र घुम्न छेउछाउ पार्क बन्नेछन्। पोखरीसँगै जोडिएको बगैँचा हुनेछ र वरिपरि झिलिमिली बत्ती जडान गरिनेछ।
रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर पनि उसले यसैगरी कंक्रिट बनाएको थियो। सर्वसाधारण, युनेस्को र पुरातत्व विभाग विरोधमा ओर्लेपछि महानगर पछि हट्यो। विभागलाई नै पुरातात्विक मान्यताअनुसार मन्दिर बनाउन दियो।
राजा प्रताप मल्लले छोराको निधनपछि रानीको मन बुझाउन बनाएको रानीपोखरीले पनि धेरैको चित्त बुझाएको छैन। सर्वसाधारण, सरोकारवाला र सम्पदाविद् आजको रानीपोखरी देखेर चिन्तित छन्। भुँइचालो आएको ठीक एक वर्षपछि शिलान्यास गरिएको यो पोखरी पुनर्निर्माण मापदण्डविपरित भएको उनीहरूको भनाइ छ।
‘यो सबै महानगरपालिकाको गैरजिम्मेवारीपनको नतिजा हो,’ सम्पदाविद् सुदर्शनराज तिवारीले भने, ‘ऐनअनुसार सय वर्षभन्दा पुरानो कुनै पनि सम्पदा मास्न, कुरुप बनाउन पाइँदैन। सम्पदा संरक्षणकर्ता हुनुपर्ने महानगर नै यो काममा अग्रसर छ।’
‘नगरपालिकाले बालगोपालेश्वरलाई मात्र सम्पदा मान्यो, पोखरीलाई मानेन,’ तिवारीले भने, ‘मापदण्डविपरित १० मिटर मिचेर कंक्रिट पर्खाल हालिँदै छ।’
[caption id="attachment_117100" align="alignnone" width="826"]
तस्बिरः सेतोपाटी[/caption]
मेयर शाक्य भने आफूलाई कुनै प्राविधिक कुरा थाहा नभएको बताउँछन्।
‘मलाई प्राविधिक कुरा खासै थाहा छैन। यस विषयमा विभाग प्रमुखसँग बुझेर पुनर्निर्माण खाका पारदर्शी रूपमा सर्वसाधारणलाई सार्वजनिक गर्नेछु,’ शाक्यले भने।
मेयरले भनेका विभागीय प्रमुख उत्तरकुमार रेग्मी हुन्, जसले यसबारे कुनै उत्तर दिन चाहेनन्। ‘मलाई यो विषयमा केही भन्नु छैन,’ मेयर शाक्यले ‘बुझ्ने’ भनेका प्रमुख आफैं केही नबुझेको भन्दै पन्छिन खोजे।
‘यो कंक्रिट पर्खाल भुइँचालो आउनुअघि नै थियो,‘ रेग्मीले भने, ‘त्यही भत्किएको भाग पुनर्निर्माण गर्न लागेका हौं। विगतमा यसको संरचना कस्तो थियो, मलाई थाहा छैन। त्योबेला म जन्मिएको पनि थिइनँ।’
निर्माण परियोजना, लागत रकम लगायत जानकारी माग्दा महानगरले बेवास्ता गर्दै टार्यो।
सम्पदाविद् तिवारी पोखरीको परम्परागत शैली नै उत्कृष्ट स्वरुप भएको बताउँछन्। ‘कंक्रिट पर्खाल बनाउँदा पोखरी चाँडै सुक्छ,’ उनले भने, ‘साढे तीन सय वर्षसम्म कालो माटोले धानेको पोखरीमा अहिले पर्खाल लाउन जरूरी छैन। जसरी बनेको थियो, त्यसरी नै बनाउनुपर्छ। हाम्रो परम्परा रोडा, सिमेन्टले जीवित राख्दैन। महानगरले खोइ बुझेको?’
रानीपोखरी संरक्षण अभियन्ता आलोक तुलाधर पनि यहाँ पहिले कुनै कंक्रिट पर्खाल नभएको बताउँछन्।
‘यस्तो पर्खाल थिएन, महानगरको भनाइ र काम सरासर गलत हो,’ तुलाधरले भने, ‘पर्खाल हालेर के रानीपोखरीलाई आधुनिक स्विमिङ पुल बनाउन खोजिएको हो? मनोरञ्जन स्थल नै बनाउने मन भए अन्तै ठाउँ छ। आधुनिकता अपनाउने नाममा प्राचीन महत्वको पोखरी बिगार्न पाइँदैन।’
रानीपोखरी १७ औं शताब्दीमा ६२ रोपनी १३ आना २ पैसा जग्गामा निर्माण भएको हो। मन्दिरमा तीनवटा शिलालेख छन् जुन संस्कृत, नेपाली र नेपाल भाषामा लेखिएको छ। शिलालेखअनुसार प्रताप मल्लले तीन जना ब्राह्मण, प्रधान र खस मगरलाई प्रत्यक्षदर्शी बनाएर यो मन्दिर निर्माण गरेका हुन्।
गुम्बज शैलीको यो मन्दिर यसअघि थुप्रै पटक पुनर्निर्माण भइसकेको छ। विसं १९५१ मा जंगबहादुर राणाले छाने शैलीको साटो गुम्बज शैली दिँदै वरिपरि पर्खाल लगाएका थिए। त्यसपछि ९० सालको भूकम्पमा भत्किएपछि जुद्धशम्शेरले पुनर्निर्माण गराए। यसको ठूलो पुनर्निर्माण २०१३ मा भएको थियो। हाल पुरातत्व विभागले गरेको पुनर्निर्माणमा पहिलेजस्तै सुर्खीचुना नै प्रयोग गरिएको छ।
काठमाडौंकै शोभा बढाउने रानीपोखरीको सुन्दरता प्राचीनकालमा तिब्बत र भारत छिचोल्ने यात्रीहरूले लेखेका दस्तावेजमा वर्णित छ। पोखरीको लम्बाइ १८० र चौडाइ १४० मिटर छ। शिलालेखअनुसार पोखरीमा राजा प्रताप मल्लले भारतीय उपमहाद्वीपका ५१ वटा महत्वपूर्ण स्थानबाट ल्याएको जल हालेका थिए।
यस्तो ऐतिहासिक र पुरातात्विक पोखरीको माछा सारेर पानी सुकाउने लगायत काम अघिल्लो वर्ष महानगरले कसैसँग नसोधी गरेको थियो। यसरी एक्लै निर्णय गर्दै सार्वजनिक सम्पत्ति रानीपोखरी पुनर्निर्माण गर्ने नाममा महानगरले दुरुपयोग गरिरहेको सरोकारवालाको भनाइ छ।
पटक–पटकको अतिक्रमणले वास्तविक स्वरूपबाट संकुचित हुँदै गएको रानीपोखरी महानगरको बेवास्ताले झनै जोखिममा परेको सम्पदाविद् तिवारीले बताए। राणाकालदेखि नै सुरु पोखरी अतिक्रमण अहिलेसम्म जारी रहेको उनको भनाइ छ। प्राध्यापक तिवारीले वास्तविक स्वरूपको रानीपोखरी कसरी अतिक्रमित हुँदै आयो भनी झल्काउने नक्सा आफ्नो फेसबुकमा सेयर गरेका छन्।
(हेनुहोस् नक्सा)‘सम्पदा विनाशको यो क्रम कसले अन्त्य गर्ने?’ तिवारीको प्रश्न छ, ‘रानीपोखरी निर्माण पिम्बहालभन्दा साढे तीन सय वर्षपछि भयो, पुनर्निर्माण त्यस्तै नहोस्।’