काठमाडौं महानगरपालिकाभित्र फोहोर गर्नेलाई अब कारबाही हुने भएको छ। निश्चित नीति नियम नहुँदा लापरवाही रुपमा फोहोरमैला बढेको भन्दै फोहोर गर्नेलाई कारबाही गर्ने महानगरकी उपमेयर हरिप्रभा खड्गीले बताइन्।
फोहोरमैला व्यवस्थापन विभागकी संयोजकसमेत रहेकी खड्गीले भनिन्, ‘सबैभन्दा शिक्षित समुदाय महानगरभित्रै बस्छन्। तर फोहोरमैला र प्रदुषण पनि महानगरमै धेरै हुन्छन्। त्यसैले फोहोरमैला कम गर्न कारबाहीको दायरामा ल्याउन लागेका हौं।’
के र कति रुपैयाँ कारबाही गर्ने विषयमा छलफलको भइरहेको उनले जानकारी दिइन्।
‘जबसम्म जरिवाना र कारबाहीको व्यवस्था हुँदैन, तबसम्म केही नहुने देखियो,’ खड्गीले भनिन्, ‘त्यसैले कारबाही र जरिवाना गर्ने तयारी गरिरहेका हौं।’
महानगरले धुलोधुँवामुक्त नहुञ्जेलसम्म सरसफाई अभियान पनि जारी राख्ने भएको छ।
महानगरले मेलम्ची खानेपानी आयोजनाले धुलाम्य भएका सडकलाई पखाल्दै आएको छ। मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा महानगरभित्रका धेरै सडक धुलाम्य भएका छन्।
महानगरपालिकाले धुलो धुँवामुक्त शहर बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ।