निर्वाचनका क्रममा पक्राउ परेका चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सबै कार्यकर्ता रिहा भएका छन्।
उक्त पार्टीले निर्वाचन बहिस्कारको नीति लिनु र ठाउँ/ ठाउँमा बम विष्फोट गराएको हुँदा सुरक्षाको लागि भन्दै दाङमा ३१ जना कार्यकर्ता पक्राउ परेका थिए।
पक्राउ परेका सबै नेकपाका कार्यकर्ता रिहाई भइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक हरि बिसीले सेतोपाटीलाई जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा दाङको तुलसीपुरमा चुनावी सभालाई सम्वोधन गर्न आएका बेला मंसिर १२ गते अज्ञात समूहले गराएको बम विस्फोटमा परि म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो।
उक्त घटनामा परि अर्का म्यादी प्रहरी १९ वर्षीय विनोद चौधरीसहित थप ७ जना घाइते भएका थिए। त्यो बम काण्डपछि दाङमा झनै सुरक्षा सर्तकता बढाइएको थियो । झन्डै १ सय बढी मानिसहरू पक्राउ गरिएपनि धेरैलाई सोधपुछपछि रिहा गरिएको थियो। दाङका निमित्त प्रहरी प्रमुखको समेत जिम्मेवारी सम्हालेका बिसीले पक्राउ परेकाहरूलाई २४ दिनभन्दा बढी राख्न नमिल्ने भएको हुँदा पक्राउ परेको मितिले उक्त समय गुज्रिनुभन्दा पहिले नै सबैलाई रिहा गरिएको बताए । तर पक्राउ परेकाहरूले भने आफूहरूलाई आस्थाकै आधारमा बिना कारण प्रहरीले नियम विपरित एक डेढ महिनासम्म कारागारमा राखेर यातना दिएको दोषारोपन गरेका छन्। ‘हामीलाई कारागारभित्र राजनीतिक बन्दीको व्यवहार भएन, निर्घात कुटपिट गर्नुका साथै अमानविय व्यवहार गरियो ।’ नाम उल्लेख नगर्ने सर्तमा एकजना दुईदिन अघिमात्रै रिहा भएको बताउने ती व्यक्तिले भने ।
आफूहरूलाई सार्वजनिक मुद्दा लगाएर मानसिक र शारिरीक यातना दिइएको भन्दै उनले त्यसको विरोध गरेका थिए।