प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलासा भएको छ।
विमान दुर्घटनापछि गठित छानबिन आयोगले विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम नै मुख्य कारण भएको प्रतिवेदन तयार पारी शुक्रबार सरकारलाई बुझाएको हो।
सरकारले विमान दुर्घटनाको कारण खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिका सदस्य सचिव सुरेश आचार्यले मौसममा एक्कासी परिवर्तन हुँदा विमान दुर्घटना हुन गएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिए।
एक्कासी मौसम प्रतिकूल भइदिँदा अवतरणको संवेदनशील क्षणमा पुगेको विमानलाई दुर्घटना हुनबाट जोगाउन नसकिएको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ।
गत जेठ १३ गते शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान तेन्जिङ हिलारी विमानस्थलको धावन मार्गमा नपुग्दै दुर्घटनाग्रस्त हुँदा चालक दलका २ जना पाईलट र कोपाईलटको निधन भएको थियो।