काठमाडौंको दरबारमार्गमा रहेको डेजाभू नाइट क्लबमा भएको तोडफोडको विषयमा सोधपुछ गर्न प्रहरीले राष्ट्रिय क्रिकेटर पृथु बास्कोटासहित डेजाभू नाइट क्लबका ८ जना पक्राउ गरेको छ।
प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडी छन्।
डिजे मार्समेलो आउने भन्दै क्लव ब्यवस्थापनले टिकट केही महिनादेखि नै विक्री गरेको र उनी नआएको जानकारी पाएपछि क्लब पुगेकाहरूले बुधबार राति तोडफोड गरेका थिए।
प्रहरीका अनुसार हिजो क्लब डेभाजूमा ४ हजार जति जम्मा भएका थिए। मार्समेलोको प्रस्तुति हेर्न ५ हजार रुपैयाँमा टिकट काटिएको र मार्समेलो नआएपछि आवेगमा उनीहरू तोडफोडमा उत्रिएका थिए।
प्रहरीलाई भीड नियन्त्रण गर्न निक्कै हम्मे परेको थियो।