दाङका तरकारी बेच्ने किसानले आफूहरू सार्वजनिक यातायातबाट नै ठगिएको गुनासो गरेका छन्।
बिहिबार बिहानै तुलसीपुरको बाहिनी चोकमा तरकारी बेच्न बसेका महिलाहरूले सार्वजनिक यातायातबाट नै आफूहरू ठगिएको बताएका हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला निवासी ४५ वर्षीया शोभा चौधरीले सोझा किसानहरूलाई ठग्ने क्रम यातयात बाटै सुरू हुने बताइन्। तुलसीपुरदेखि सितलपुरको दूरी १० किलो मिटरको मात्रै रहेको र आफू सितलपुरभन्दा दुई किलोमिटर उत्तरतर्फबाट गाडी चढ्दा ५० देखि ६० रुपैयाँ गाडीका स्टाफले असुल्ने गरेको उनले बताइन्। राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति तुलसीपुरका डायल इञ्चार्ज प्रकाश भट्टले भने तुलसीपुर–सितलपुर सडक खण्डमा ३० रुपैयाँमा मात्रै भाडा निर्धारण गरिएको बताए ।
यति मात्र होइन उनले गाडीका स्टाफले गाउँघरबाट तरकारी बेच्न जानेहरूलाई सम्मान जनक व्यवहार नगरेको गुनासो गरिन्। ‘हामीलाई ए थरुनी भनिन्छ, ए तरकारी वाली भनिन्छ तर, ए दिदी वा बहिनी भनेर सम्वोधन गरिदैन’ चौधरीले दुखेसो पोखिन्। उनले साना किसानलाई ठग्ने तथा होच्याएर सम्वोधन गर्नेक्रम गाडी स्टाफबाट सुरू हुने र बजारमा पुग्दा त्यो झनै व्यापक बन्ने अनुभव बाँडिन्। ‘गाडीमा मात्रै हैन, सहर बजारका शिक्षित भनाउँदा कतिपय व्यक्तिले समेत गाउँ घरबाट डुलेर तरकारी बेच्न आउनहरूलाई हेप्ने गरेका छन्,’–शोभाले भनिन् ‘हामी हाम्रो उत्पादन र श्रम बेच्न आएका हौं, हामीलाई तस्कर र ठगी गर्ने व्यक्तिलाई जस्तो व्यवहार किन गरिन्छ?’
त्यस्तै, बाहिनी चोकमै तरकारी बेच्दै गरेकी कचिलाकै ३३ वर्षीया सरिता चौधरीले पनि बजारमा बस्ने भद्र भलाद्मी देखिने कतिपय व्यक्तिहरूले गर्ने व्यवहार अत्यन्त तुच्छ र पिडादायक हुने गरेको अनुभुति बाँडिन्। ‘एक रुपैयाँको लागि पनि अति किचकिच गर्छन, थोरै पैसा फालेर जबरजस्ती हाम्रो सामान तानेर लैजान्छन्,’–सरिताले थपिन् ‘एउटा किसानले तरकारी उत्पादन गर्न कति मेहनत गरेको हुन्छ , तर त्यसैमा जवरजस्ती हुन्छ।’
सरिताले आफूहरू जस्ता साना किसानले गाउँ घरबाट एकाविहानै बजार पुर्याउने तरकारी ताजा र सब्जिमण्डीकोभन्दा सस्तो हुने दाबी गरिन्। ‘सब्जिमण्डीका धेरै व्यापारीले हामीसँगै सस्तोमा लगेर बेच्ने त हुन नि’ उनले भनिन्। बजारमा आफूहरू जस्ता साना किसानको लागि एउटा छुट्टै स्थानको व्यवस्था गर्न सरिताले स्थानीय निकायसँग माग गरिन्।
एउटै ठाउँबाट तरकारी बेच्ने व्यवस्था भएमा मूल्यपनि एकरुपता हुने र साना किसान ठगिने क्रम रोकिने उनको धरणा छ ।
फस्टाउँदै सडकको तरकारी बजारदाङमा प्रमुख बजारहरूमा एकाबिहानै साना किसानले गर्ने सडक व्यापार निकै फस्टाउँदै गएको देखिन्छ । ताजा पनि हुने र सस्तोमा पनि किन्न पाइने हुँदा अधिकांश उपभोक्ताको रोजाइमा साना किसानको सडक व्यापार नै पर्ने गरेको पाइन्छ। बजारमा मानिसहरू प्राय: गाउँ घरबाट आउने साना किसानको ताजा तरकारी किन्न झुम्मिएका भेटिन्छन् । मुख्यगरी ‘मर्निङ वाक’मा निस्कनेहरू नै यहाँको बजारका सडकमा हुने तरकारीका मुख्य उपभोक्ता हुन्।
साना किसानले सडकमा बेच्ने कर्णल आलु १२५ देखि १५० रुपैयाँसम्म विक्री भएको पाइएको थियो भने त्यही आलु ५०० मिटर जतिको दूरीमा पर्ने सब्जिमण्डीमा भने १७० रुपैयाँ देखि माथिको मूल्यमा विक्री भइरहेको थियो । सडकमा फूलगोभी बढीमा १०० रुपैयाँमा खरीद विक्री भएपनि सब्जिमण्डिमा भने १५० र त्यो भन्दा माथिमा व्यापार भइरहेको पाइयो। तरकारी मध्ये यहाँपनि सबैभन्दा चर्को भाउ भने प्याजकै रहेको पाइएको छ । तुलसीपुर सब्जिमण्डी सञ्चालक समितिका सदस्य नारायण केसीका अनुसार प्रतिकेजी प्याजको मूल्य १०० देखि १२० रुपैयाँसम्ममा विक्री भइरहेको जानकारी दिए । भारतबाट प्याज आउन छोडेपछि प्याजको मूल्य दोब्बर बढी महंगो भएको उनले बताए ।