नेपाली छापा माध्यमका मुख्य पृष्ठमा महिला पत्रकारको बाइलाइनको अवस्था कस्तो छ भनी गरिएको एक अध्ययनमा जम्मा ५.३२ प्रतिशत तथ्याङ्क देखिएको छ।
बुधबार फ्रिडम फोरम नेपालले आयोजना गरेको एक कार्यक्रममा फोरमकी मिडिया अनुगमन संयोजक नानुमैयाँ खड्काले ९ राष्ट्रिय दैनिक पत्रिकाको ११ महिनाभित्र गरिएको अध्ययन प्रस्तुत गरेकी थिइन्।
नेपालका मुख्य ९ राष्ट्रिय दैनिक पत्रिकाको मुख्य पृष्ठमा महिलाको उपस्थिति कस्तो छ भन्ने उदेश्यका साथ गरिएको अध्ययनमा जनावरी देखि नोभेम्वसम्म गरी महिलाको बाइलाइनको अवस्था जम्मा ५.३२ प्रतिशत देखिएको उनले बताइन्।
जसमा ११ महिनामा अन्नपुर्ण पोस्टले महिला बाइलनको स्थान बढी दिएको र नागरिक दैनिकले कम दिएको अध्ययनले देखाएको छ।
बिभिन्न ९ राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र गोरखापत्र दैनिक तथा अंग्रेजीमा दि काठमाडौं पोष्ट, दि राइजिङ नेपाल, रिपब्लिका र दि हिमालयन टाइम्स मा यो अध्ययन गरिएको थियो।
अध्ययनको क्षेत्रमा पत्रिकाको शिर्ष पृष्ठका समाचारमा महिलाको बाइलाइन, समाचार स्रोतको रुपमा महिलाको बाइट, संख्या आदि समावेश थिए।
अध्ययनका अनुसार समाचारमा ८२.७३ प्रतिशत पुरुषलाई स्रोतका रुपमा उल्लेख गरिएको छ। महिलाहरु स्रोतको रुपमा भने ९.२५ प्रतिशत प्रयोगमा आएका छन्।
समाचारमा स्रोतको रुपमा पुरुष स्रोत नै हावी हुने र महिला स्रोत न्यून हुने अध्ययनको निष्कर्ष छ।
मुख्य पृष्ठमा मुख्यतय राजनीतिक समाचारले नै बढी प्राथमिकता पाउने हुनाले महिलाहरुको बाइलाइन संख्या कम भएको अध्ययनको निष्कर्ष थियो।
तथ्यांक सार्वजनिक कार्यक्रममा सहभागी अन्नपुर्ण पोस्टका प्रकाश आस्थाले संचार गृहमा महिलाहरुले राजनीतिक विषयमा काम गर्न सक्दैनन् भन्ने प्रवृति मौलाएको बताउँदै संचार गृहले नै महिलाहरुलाई बढी स्थान दिनुपर्ने बताए।
यसैगरि अर्कटी सहभागी नागरिक दैनिककी भाषा शर्माले संचार गृहमा राजनीतिक विषयमा काम गर्न महिला नियुत्ति कम हुने भएकाले समाचार पनि कम आउने बताइन्।
उनले अध्ययनको सिमा अझ बढाउनु पर्ने सुझाव पनि दिएको थिइन्।
सुचना विभागकी सुवन वज्रचार्यले सूचना विभागबाट पत्रकारको कार्ड लिने महिलाको संख्या निकै न्यून भएको बताइन्। गत वर्ष ७५२८ पत्रकारमध्ये ५९३ महिला पत्रकारले मात्र कार्ड लिएको बताइन्। यो वर्ष भने त्यो संख्या कम हुँदै ४०८ जना महिलाले पत्रकारको कार्ड लिएको उनले बताइन्।
उनले ३३ प्रतिशत महिला आरक्षण सिटको व्यवस्था संचार गृहमा पनि तोक्न सके महिला पत्रकारको संख्या बढ्ने र समाचारमा बाइलाइनको संख्यामा पनि सुधार आउन सक्ने बताइन्।
राष्ट्रिय समाचार समितिकी पवित्रा गुरागाइले मिडिया हाउसमा महिलाको पत्रकारीता विकाश कसरी गर्ने भन्ने अभ्यास नै नभएको बताइन्।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले यस्ता अध्ययन बारम्बार हुन आवस्यक भएको बताए। उनले त्यो अध्ययनले महिलाको अवस्थामा केही प्रभाव पार्न सके बल्ल पत्रकारितामा त्यो प्रभावकारी हुने बताए।