विहीबार हुने निर्वाचनको एउटा मतदान ५६ जनासम्म प्रहरी खट्ने भएका छन्। निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी दिन प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलननमा प्रहरी प्रवक्ता मनोन नेउपानेले मतदाता संख्या, भौगोलिक बनावट लगायतका कुरा ध्यानमा राखेर एउटा मतदान केन्द्रमा म्यादी र प्रहरी गरी ५६ जनासम्म खटाइन लागेको जानकारी दिए।
यसका साथै नेपाल प्रहरीलाई सशस्त्र प्रहरी र नेपाल आर्मीले मतदान केन्द्र टाढैबाट पेट्रोलिङ, स्ट्राइकिङ गरी सुरक्षामा साथ दिदैँछन् । चुनावमा सेनाका ६४ हजार र सशस्त्रका २९ हजार प्रहरी खट्ने छन् ।
प्रहरीले भने ७२ हजार आफ्नौ फौजको ९० प्रतिशत खटाउने बताएको छ। बाँकी १० प्रतिशत प्रहरी कार्यालय संचालन र पहिलो चरणको चुनावको मतपेटिका कुरेर बसिरहेको न्यौपानेले बताए।
चुनावमा प्रहरीको रिजर्भ फोर्स तयारी अवस्थामा रहने र हेलिकप्टरको पनि व्यवस्था गरिएको उनले बताए। निर्वाचनको सुरक्षा तयारी पुरा भएको भन्दै प्रहरी प्रवक्ता नेउपानेले सुरक्षामा कुनै त्रुटि हुन नदिने बताए।
चुनावका बेला भारतीय प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रहरुमा विशेष सर्तकता अपनाएको पनि उनले बताए। चुनावमा पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी घेरामा सेना खट्नेछन् ।
त्यस्तै दोस्रो चरणमा निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा नक्कली बम धेरै भेटिएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता मनोन नेउपानेले धेरै जसो बम तर्साउनका लागि नक्कली भेटिएको बताए।
प्रहरी प्रधान कार्यालयले कति स्थानमा कति नक्कली बम भेटिए भन्ने विषयमा जानकारी भने दिएन।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुने निर्वाचन बाँकी रहेका ४५ जिल्लामा हुनेछ ।
निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ५ सय ७८ जना सहभागी हुदैँछन् । प्रतिनिधि सभाका लागि १६६७ र प्रदेश सभाका लागि २८ सय ५ जना उमेद्वार छन् । ७ हजार ७ सय ५२ मतदान स्थल छन् भने १५ हजार ३ सय ४४ मतदान केन्द्र छन् ।