नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आम मतदाता र उम्मेदवारहरुको पूर्ण सुरक्षाको जिम्मा लिन मातहतका निकाएलाई निर्देशन दिएका छन्। सोमबार गृह जिल्ला दाङको घोराहीमा आएका अर्यालले प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी लगाएतका अधिकारीलाई हरेक मतदाताले ढुक्क भएर मतदानमा सहभागि हुन सक्ने सुरक्षाको वातावरण निर्माण गर्न कुनै कमजोरी नगर्द निर्देशन दिएका हुन्।
चुनावलाई भयरहित, स्वतन्त्र, सुरक्षित र मर्यादित बनाउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिदै प्रहरी महानिरीक्षक अर्यालले मतदाता, उम्मेदवार र चुनाव सामाग्रीको सुरक्षामा जिम्मेवारीका साथ प्रस्तुत हुने आग्रह गरेका छन्।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन, मतदाता र मतदान केन्द्रको सुरक्षाको सवालमा कुनै कमि हुन नदिने उनले सुझाएका हुन। नेपाली सेनाको हेलिकप्टर मार्फत गृहजिल्ला आएका अर्यालले मंसिर २१ गतेको निर्वाचनलाई सुरक्षित बनाउने जिम्मेवारी जिल्लाका सुरक्षा निकायको भएको हुँदा कुनै पनि अपराधिक कार्यलाई निरुत्साहीत गर्न निर्देशन दिएका हुन्।
घोराहीस्थित नेपाली सेनाको रिपूमर्दन गणमा उच्च सुरक्षा अधिकारीहरुको बीचमा भएको उक्त बैठकमा प्रहरी महानिरीक्षक अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपकुमार रेग्मी लगायत सुरक्षा अधिकारीको सहभागिता थियो।
दाङमा निर्वाचनको तयारीबारे जानकारी लिंदै त्यसअवसरमा उनले जिल्लाको सुरक्षा अबस्थाका बारेमा पनि जानकारी लिएका थिए। त्यसक्रममा उनले अपराधमा संलग्न कुनै पनि समूह वा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।
गत मंसिर १३ गते मात्रै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति दाङको तुलसीपुरमा आउँदा अज्ञात समूहले बम विस्फोट गराउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो भने थप आठ जना घाईते भएका छन्।
घाइते मध्ये दुई जनाको हाल काठमाडौंमा उपचार भइरहेको छ । त्यसक्रममा जिल्लाका सुरक्षा अधिकारीहरुले लुकिछिपी एकाध घटना भएपनि जिल्लाको शान्ति सुरक्षाको सवालमा भरपर्दो व्यवस्था मिलाइएको व्रिफिङ गरेका थिए । दाङमा निर्वाचनको लागि ४ हजार १ सय बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।