राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पक्षपातरहित ढंगले पुनर्निर्माणको काममा सहभागी हुन प्राविधिकहरूलाई निर्देशन दिएको छ।
आइतबार भूकम्प प्रभावित ३१ जिल्लाका लागि करारमा नियुक्त गरिएका २ सय ८२ जना इन्जिनियर र ४ सय जना सव इन्जिनियरहरूको तालिम समापन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राविधिकहरूलाई निर्देशन दिएका हुन्।
कार्यक्रममा बोल्दै उनले सम्बन्धित स्थानीय तहमा समन्वय गरेर काम गर्ने कार्यादेश रहेको स्मरण गराए। प्रमुख कार्यकारी अधिकृत भुसालले जनताको माझमा रहेर पुनर्निर्माणको कामलाई अघि नबढाए प्राविधिकहरूमाथि सामन्तको जस्तो व्यवहार गरेको आरोप लाग्नेतर्फ पनि सचेत गराए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ महिनाका लागि करारमा नियुक्त गरी इन्जिनियर, सव इन्जिनियरहरूको टोलीलाई आइतबार पनि पुनर्निर्माणको काममा खटाएको हो। आवश्यकता अनुसार प्राविधिकहरू थप गरी पुनर्निर्माणको कामलाई तीव्रता दिने प्राधिकरणले जनाएको छ।