हिमालपारी मुस्ताङको जोमसोममा २ दिने बृहत स्वास्थ्य शिविर भएको छ। चाईनिज भाषामा ब्याचलरको कोर्ष पूरागरि फर्किएका डक्टरहरुको सामाजिक संस्था अरनिको समाज काठमाडौंले शनिबार र आईतबार जोमसोममा शिविर सञ्चालन गरेको हो। संस्थाले जोमसोममा समेत गरेर ३ हिमाली जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। संस्थाले मुस्ताङपछि अर्को वर्ष हुम्लाको सिमीकोटमा स्वास्थ्य शिविर गर्नेछ।
वर्षेनी १ सिजन मात्र सञ्चालन गरिने स्वास्थ्य शिविर कार्यक्रम संस्थाले यो सिजन मुस्ताङमा गरेको अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले जानकारी दिए। उनले यसअघि संस्थाले रसुवा जिल्लाको स्याप्लुबेशीमा शिविर आयोजना गरिसकेको जानकारी दिँदै नेपालका दुरदराजका स्थानमा पूगेर स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको उद्देश्य भएको बताए।
हिमालपारी मुस्ताङमा स्वास्थ्यसेवा प्रवाह गर्ने उद्धेश्यले अरनिको समाजका ६ टोली मुस्ताङ आएका हुन्। उनीसँगै काठमाडौंका विभिन्न हस्पिटलमा कार्यरत १७ जना डक्टर, ल्याब परीक्षणमा ७ जना डाक्टर र फार्मेसीमा ३ जना गरि ३२ जनाको स्वास्थ्य टोली बिहिबार मुस्ताङ आएको हो।
संस्थाको निजी श्रोत मार्फत सञ्चालन गरिएको शिविरमा आउँने बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको छ। संस्थाले मुस्ताङमा आयोजना गरेको शिविरमा करिब ६ लाख मुल्यको औषधि वितरण गरेको छ। अरनिको समाजले गरेको २ दिने स्वास्थ्य शिविरमा जिल्लाका ९ सय ७७ बिरामीले स्वास्थ्यलाभ लिएको संस्थाका समन्वयकर्ता डा.कृष्णगोपाल महर्जनले जानकारी दिए।
उनका अनुसार शिविरमा जनरल मेडिसियन सर्जन,दन्त रोग,बालरोग,स्त्री रोग,छाला रोग,नशा रोग, हाडजोर्नी रोग आदिको स्वास्थ्य परीक्षण गरिएको छ। त्यस्तै ल्याबतर्फ भिडियो एक्सरे, ब्लड सुगर, सिबिसी जाँच र पिसापको परीक्षण गरिएको छ।
यसअघि संस्थाले शनिबार मुस्ताङको कागबेनीमा शिविर सञ्चालन गरेको थियो। मुस्ताङ उद्योग वाणिज्य संघको जिल्ला समन्वयमा भएको बृहत स्वास्थ्य शिविरले जिल्लाका बिभिन्न रोग भएका बिरामीले स्वास्थ्य लाभ लिने अवसर मिलेको अध्यक्ष खगेन्द्र तुलाचनले बताए। उनले भने, ‘अरनिको समाजले कार्यक्रम तय गर्यो, हामीले शहजीकरण गरेर सहयोग गर्यौ, यसप्रकारका कार्यक्रमले गरिब र बिपन्न परियारलाई राहत पुगेको छ।’
यस्तै हिउँदको चिसो मौसमको परवाह नगरि अरनिको समाजले स्वास्थ्य शिविर संञ्चालन गरेर मुस्ताङी जनतालाई स्वास्थ्यप्रति राहत उपलब्ध गराएको स्वास्थ्य परीक्षणमा सहभागि मनिता थकालीले बताईन्। उनले यस्तो कार्यक्रमले गरिब र बिपन्न परिवारले मलमपट्टी लगाएको उल्लेख गरिन्।