प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको अत्याधिक चिसो र लेक लागेर मृत्यु भएको छ ।
यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो। गोला प्रथाबाट उत्तरी कोरला नाकाको करिब १० किमी वरको दिब्यदिप मतदानकेन्द्र छोसेरमा खटिएका जिल्ला घरेलु तथा साना उद्योग विकास समितको उद्योग विकास शाखा मुस्ताङमा कार्यरत कार्यालय सहयोगी ४५ वर्षीय लेखनाथ निउरेको चिसो र लेक लागेकै कारण उपचारका क्रममा मंगलबार मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय जोमसोमले पुष्टी गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय जोमसोममा कार्यरत डा. राम शर्मा सुबेदीले निउरेको हाईअल्टिच्यूट र चिसोले मृत्यू भएको बताए। ‘मृतक निउरेलाई २ दिन अगावै हाईअल्टिच्यूट र चिसोले च्यापिसकेको रहेछ’, डा. शर्माले भने, ‘जोमसोम आईपुग्दा उनको शरीर कमजोर भएको र अक्सिजन दिएर बचाउँने प्रयास गर्दा समेत सफल हुँन सकेनौ।’
पहिलो चरणको मंशिर १० गते भएको निर्वाचनका लागि खटिएका मृतक निउरे गत शुक्रबार उपल्लो मुस्ताङतर्फ प्रस्थान गरेका थिए। उनीसँगै मतदान अधिकृत आईतलाल थकाली, सहायक मतदान अधिकृत बुद्धिराम उपाध्याय, पबित्रा थापा, मुकेश यादव, धन कुमारी गुरूङ, साम बहादुर गुरुङ उक्त मतदानकेन्द्रमा पुगेका थिए।
मतदानको २ दिन अघि उपल्लो मुस्ताङ पुगेका निउरेलाई मतदानको दिन आईतबारनै लेक लागेर बिमारी भएको उनीसँगै मतदानमा खटिएका मतदान अधिकृत आईतलाल थकालीले जानकारी दिए।
लेक र चिसोले छोईसकेको र भौगोलिक बिकटता र पर्याप्त उपचार नहुँदा उनको मृत्यु भएको मतदानमा खटिएका टोलीले बताए। छोसेरको मतदान कार्यक्रम सकेर सदरमुकाम र्फकिएका निउरेलाई सोमबार साँझ जिल्ला स्वास्थ कार्यालयमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बाग्लुङ घर भई चितवन बसोबास गर्दे आएका मृतक निउरे २०६८ साल देखि उद्योग विकास शाखा मुस्ताङमा कार्यालय सहयोगी भएर कार्यसम्पादन गर्दे आएका थिए।