सुगम जिल्ला मानिने दाङको तुलसीपुर उपमहानगरपालिका अन्तरगतको वडा नं ४ मुलकोटमा सोमबार पहिलो पटक गाडी पुगेको छ।
लु १ ज १७०९ र रा १ ज ५२२ नं. जीप पुगेपछि स्थानीयले गाडी चालकलाई भव्यरूपमा स्वागत गरेका छन्। स्थानीयले पहिलो पटक त्यहाँ चारपाङ्ग्रे गाडी चलाएर लैजाने चालकलाई फूलमालाले स्वागत मात्रै गरेनन् त्यहाँ पुगेका जीपको पूजा समेत गरे । झन्डै ६ लाखको लागतमा त्यहाँ २ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएपछि सोमबार पहिलो पटक मुलकोटमा चारपाङ्ग्रे गाडी पुगेको हो।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ४ बाट ३ लाख, मुलकोटका ३५ घरधुरीबाट प्रति घरधुरी ५ हजारका दरले १ लाख ७५ हजार, स्थानीय जनप्रेमी सांस्कृत युवा क्लबको भैलोबाट संकलित ३७ हजार र रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका व्यक्तिहरूले पठाएको ७५ हजार गरि कुल ५ लाख ८७ हजार रुपैयाँको लागतमा मुलकोटमा २ किलोमिटर बाटोको ट्रयाक निर्माण गरिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष दोलखबहादुर पुनले जानकारी दिए।
इमान्दरीपूर्वक सबै मिलेर काम गरे असंभव काम पनि संभव हुन्छ भन्ने उदाहरण मुलकोटबासीले प्रस्तुत गरेको अध्यक्ष पुनले बताए । उक्त बाटोको उ्घाटन तुलसीपुर उपमहानगरका मेयर घनश्याम पान्डेले रिवन काटेर गरेका थिए।
स्थानीय निसा पुनले यसअघि सुत्केरी व्यथा लाग्दा वा कोही दुःख बिरामी हुँदा डोकोमै बोकेर हरनेटी सडक खण्डसम्म पुर्याउनु परेको स्मरण गर्दै ट्रयाक खोलिएको उक्त बाटोको स्तरोन्नति तथा कालोपत्रेका लागि प्रमुख पाण्डेलाई आग्रह गरेकी थिइन्।
त्यसैगरी उनले मुलकोट क्षेत्रकै पानीले तुलसीपुर बजारवासीको प्यास मेटाउने गरेतापनि त्यस मुहानको माथिल्लो क्षेत्रमा बस्ने स्थानीयले खानेपानीका लागि ठूलो सास्ती खेप्नु परेको भन्दै पिउनेपानीको प्रबन्ध गरिदिन आग्रह पनि गरेकी थिइन्।