पाँचथर र इलामको राँके–रबी सडकखण्डमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
पाँचथर र इलामको सीमावर्ती राँके–रबी सडक खण्ड अन्तर्गत फाकफोकथुम गाउँपालिका ४ साविक इलाम जिल्लाको फुएतप्पा तथा पाँचथर जिल्लाको फाक्तेपको सीमानामा राखिएको बम नेपाली सेनाको टोलीले बिहिबार दिउँसो निष्क्रिय पारेको हो।
सडकमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयबासी तथा सवारीका यात्रुले प्रहरीलाई खबर गरेका थिए । बम बिहान साढे ७ बजेतिर फेला परेको र करीब ५ घण्टापछि निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बीच सडकमा बम फेला परेपछि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बम निष्क्रिय पार्न पाँचथरको तुम्बेवा गाँउपालिकाको केन्द्र मौवामा रहेको नेपाली सेनाको भैरवी दल गणको टोली घटनास्थल पुगिसकेको र बम निष्क्रिय पारेको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।
पाँचथरमा यसअघि फिदिम नगरपालिका–२ शनिवारे र हिलिहाङ गाँउपालिका ५,६ को सीमा चतुरे बजारमा समेत बम फेला परेको थियो । बम कसले र किन राख्यो ?भन्ने एकिन हुन सकेको छैन र कुनै पक्षले जिम्मेवारी समेत लिएको छैन।