ललितपुरको दरबार क्षेत्रमा धेरैको ध्यान कृष्ण मन्दिरले मात्र तान्छ। तर, त्यसैसँग मल्लकालीन सभ्यता झल्काउने अर्को मन्दिर छ, विश्वनाथको मन्दिर।
२०७२ को भुइँचालोमा क्षति पुगेर लामो समय पुनर्निर्माण हुन नसकेको यो मन्दिरलाई काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) ले फेरि उभ्याउँदैछ।
सिद्धिनरसिंह मल्लका पालामा बिक्रम सम्बत् १६२६ (नेपाल सम्बत् ७४७) मा बनेको उक्त मन्दिरमा कुँदिएका कलाकृति पाटनभरि कतै नभएको केभिपिटीका निर्देशक रोहित रञ्जितकार बताउँछन्।
‘यो काष्ठकलामा उत्कृष्ट मानिने मन्दिर हो,’ उनले सेतोपाटीसँग भने, ‘निर्माण क्रममै हामीले यसको संरचनामा विशेष ध्यान दिन जरुरी देखेका छौं।’
दुई वर्षसम्म पुनर्निर्माण हुन नसकेको विश्वनाथ मन्दिरमा तल्लो तलाका काम पूरा भइसकेको उनले जानकारी दिए। भुइँचालाले जीर्ण बनाएको मन्दिरका पुराना काठ चिसोले ओसिएका थिए। अहिले सबै काठ फेर्ने काम सकिएको छ।
‘पुराना काठ पूरै मक्किएका थिए, त्यसैले नयाँ प्रयोग गरेका छौं,’ उनले भने, ‘यो काठ लामो समय टिकोस भनेर माथिबाट तामाको ‘कोटिङ’ गरेका छौं, त्यसमा रङ पनि लगाएका छौं।’
उनका अनुसार भुइँचालोले तल्लो तलामा धेरै दबाब पर्ने हुँदा बढी समस्या देखिएको हो। यसका गारो पनि भत्किएका छन्। त्यसको मर्मत जारी छ। माथिल्लो तल्लामा भने त्यति धेरै संरचनात्मक समस्या नभएको उनले बताए।
‘तैपनि मन्दिरमा भार नपरोस् भनेर हामीले छानो निकालेर सुन्दरी चोकमा राखेका छौं,’ उनले भने।
बेलायती दूतावास, जापानी दूतावास, ग्लोबल हेरिटेज लगायतको सहकार्यमा केभिपिटीले पुनर्निर्माण थालेको हो। यसको लागत २ करोड १६ लाख रुपैयाँ छ। करिब छ महिनामा निर्माण पूरा हुने रञ्जितकारले जानकारी दिए।
पगोडा शैलीमा निर्मित यो मन्दिर शिवको हो। स्मारक संरक्षण तथा ललितपुर दरबार हेरचाह कार्यालयका काजीमान प्याकुरेलका अनुसार यसको इतिहास भारतको काशी विश्वनाथसँग जोडिएको छ।
भारतको काशी विश्वनाथ दर्शन गर्न जाने चलन मल्लकालदेखि नै थियो। मुगल राज्यका पालामा त्यो मन्दिर भत्काइएपछि नेपालबाट दर्शन गर्न जान बन्द भयो। त्यसपछि तत्कालीन मल्लाराजा सिद्धिनरसिंहले नेपालमै विश्वनाथ मन्दिर बनाए।
विश्वनाथलाई कला र वास्तुकलाका हिसाबले एक उत्कृष्ट नमूनाका रूपमा लिइन्छ। पाटन क्षेत्रभरी नै यसमा कुँदिएका कला विशेष मानिन्छ। यसको पूर्वमा दुईवटा हात्ती र दक्षिणमा दुईवटा सिंह द्वारपालका रूपमा बसेका छन्। पूर्वमा दुई हात्तीमाथि एक–एक मानव आकृति छन्। उत्तरतर्फको गेटनजिकै ढुंगाले बनेको नन्दी छ, जसलाई हिन्दु धर्मअनुसार शिवको वाहन भनिन्छ।
यो मन्दिरको केन्द्रमा शिवलिंग छ। प्रायः मन्दिरमा एक वा दुई ढोका हुने भए पनि यहाँ चारवटा छन्, जुन यसको अर्को विशेषता हो। सबै ढोकामा कलात्मक बुट्टा कुँदिएका छन्।
दुईतल्ले यो मन्दिरलाई २० वटा खम्बाले सहारा दिएका छन्। यसका खम्बामा काष्ठकला कुँदिएका छन्। विस्तृत रूपले कुँदिएको कलामा शिवको आकृति पनि छ। मन्दिर र खम्बा बीचमा खाली ठाउँ छ, जसलाई प्रदर्शनी पथ भनिन्छ। प्रदर्शनी पथमा पूजाआजा गर्न आउनेहरू फन्को लगाउँछन्।
पहिलो र दोस्रो तल्लामा कलात्मक तोरण टाँगिएका छन्। तोरणमा शिव, गणेश, पार्वती, अन्नपूर्ण र सूर्य भगवानका फरक–फरक आकृति छन्। यसमा कामसूत्रका कला पनि कुँदिएका छन्। यसका टुँडालमा गरुड र नाग देवीदेवताका आकृति छन्।
पाटन क्षेत्रमा वर्षौंदेखि काष्ठकलाको काम गर्दै आएका राजेन्द्र बाराही यो मन्दिरका कला देखेर अच्चमित हुन्छन्। ‘यो मन्दिरका झ्याल, ढोका, टुँडाल लगायतमा विस्तृत काम भएका छन्,’ उनले भने, ‘आजकल कहाँ यसरी काम हुन्छ र? यो बनाउने कालिगढको लगन र धैर्य देखेर अचम्म र इष्र्या लाग्छ।’
यो मन्दिरको १९७४ सालमा सामान्य मर्मत भएको थियो भने सन् १९९१ मा विस्तृत जीर्णोद्धार गरिएको थियो।