आन्तरिक राजस्व कार्यालयको आयोजनामा पोखरामा छैंटो राष्ट्रिय कर सप्ताह दिवस सुरू भएको छ।
कर दिवस तथा कर सप्ताहको अवसरमा पोखरामा प्रभातफेरी निकालिएको छ। कर सप्ताह अन्तरगत गण्डकी र धौलागिरीका उत्कृष्ट करदातालाई सम्मान गर्ने, कर प्रशासन, कर सचेतना तथा सहभागिता र सञ्चालनमा सहयोग पुर्याउन कार्यक्रम गरिने भएको छ।
प्रभातफेरीमा सहभागीले ‘कर तिरौं आत्मसम्मानको अनुभूति गरौं, गौरवको साथ तिरौं कर, संबृद्ध राष्ट्र हाम्रो रहर लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए।
२०७४/७५ चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ। यो आर्थिक वर्षमा पोखरा कार्यालयले ८ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले बताए । कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा ६ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
गण्डकी र धौलागिरीका १० जिल्लामा १ लाख १७ हजार ९ सय २९ करदाता छन् । व्यवसायिक प्यानमा दर्ता भएका ७१ हजार ८ सय ६२ छन् भने व्यक्तिगत प्यानमा दर्ता भएका ४६ हजार ६१ जना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका १० हजार ८ सय २३ र इक्साइ करदाता ६ हजार ६ सय ६९ रहेका छन् ।