रौतहटका बिपन्न परिवारको सहारा बनेका हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर चुनावका कारण आर्थिक संकटमा परेका छन्।
महत्वकांक्षी योजनासहित रौतहटको चन्द्रपुर–८ सन्तपुरका बिपन्न दलित परिवारलाई एकीकृत नमुनाबस्ती बनाउन लागेका धुर्मुस सुन्तलीलाई चुनाव नजिकिएकाले दाताहरूको सहयोग नआएपछि आर्थिक संकट परेको छ।
माघ २४ बस्ती हस्तान्तरण गर्ने लक्ष्यसहित निर्माण थालिएको घर जसरी भए पनि हस्तान्तर गर्ने फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानका दिए। ‘हामीलाई खर्चको अभाव छ तर कुनै पनि हालतमा तोकिएको समयमा बस्ती हस्तान्तरण गर्छौ,’ उनले भने। सुरूमा ४५ वटा घर बनाउने योजना भए पनि निर्माणका क्रममा पछि ३ वटा घर थपिएको छ।
४८ वटा घर सहित एक सामुदायिक भवन, एउटा भ्यू टावर, मन्दिर, सार्वजनिक धारा र शौचालयलगायतका भौतिक संरचना उनीहरुले निर्माण गर्ने भएका छन्।
१२ कठ्ठा जमिनमा २४ इन्च चौडा र ९ फिट अग्लो पर्खाल र २५ भन्दा बढी घरका जग उठाईसकेका छन्। भूकम्प प्रतिरोधी र सम्भावित डुबानबाट बचाउने हेतुले घरको निर्माण गरिने छ। परियोजना सक्न ६ करोड लाग्ने अनुमान गरिएको छ, धेर थोर सहयोग जुटे पनि करिब ४ करोड रूपैयाँ अझै अपुग हुने देखिएको छ।
उनीहरुले बस्ती निर्माणमा मात्र होइन त्यहाँ कार्यरत कामदारलाई समेत राष्ट्रिय गानबाट देशभक्तको भावना जगाउने गरेका छन्।
काम गर्न जानुअघि मजदुरलाई शिक्षा र परेडसमेत खेलाउने गरेका छन्। धुर्मुस सुन्तलीको यो चौथो परियोजना हो।
https://www.facebook.com/setopati/videos/1657732124297354/
बस्तीमा घर भएका बिपन्न परिवारको आशा र भरोसासमेत धुर्मुस सुन्तलीप्रति नै रहेको छ। घर बनाउन खाली गराइएका बस्तीका बासिन्दा भने नजिकै नहरको डिलमा छाप्रो बनाएर आश्रय लिईरहेका छन्। उनीहरुको जाडो यसै छाप्रोमा बित्ने अवस्था छ।