ललितपुर जिल्लालाई पुस भित्रमा फोहरमुक्त जिल्ला घोषणा गरिने भएको छ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा रहेका गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई मङ्सिरभित्र खुला दिशामुक्त क्षेत्र घोषणा र पुसभित्र जिल्लालाई फोहरमुक्त सहर घोषणा गर्ने जानकारी दिइएको हो।
जिल्लामा तीन गाउँपालिका, दुई नगरपालिका र एक महानगरपालिका रहेका छन्। कार्यक्रममा जिल्लामा सरसफाइको अवस्था, गाउँपालिकामा चर्पी निर्माणको अवस्थाबारे जानकारी दिइएको थियो। खुला दिशामुक्त घोषणा गर्न धेरै बाँकी नरहेकोले मङ्सिरभित्रमा त्यो पूरा हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए।
हामी जिल्लामा छिटो सरसफाइ कायम राख्न कोसिस गरिरहेका छौँ, पौडेलले भने-गाउँपालिका, नगरपालिकामा चर्पी निर्माण र सरसफाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।’
कार्यक्रममा खुला दिशामुक्त गाउँ घोषणा गर्न प्रक्रिया पुगेको खोकना, ठूलादुर्लुङ र नगरपालिकाका केही वडालाई अनुमति दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ललितपुरका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।
जिल्लाभर चर्पी निर्माणका लागि तीव्रता दिइए पनि सरसफाइमा शहरी क्षेत्रमा समस्या देखिएको पौडेलले बताए।
२०६७ सालमा जिल्लामा तत्कालीन दलचोकी गाविसबाट सुरू गरिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम भूकम्पका कारण रोकिएर ढिलाइ भएको हो।
जिल्लाभर खानेपानीको अवस्था सुधार हुँदै गएपनि कतिपय गाउँमा अझै पनि पिउने पानी पुर्याउन समस्या भएकोमा त्यसको व्यवस्थापन गर्न गाउँपालिका, नगरपालिका र महानगरपालिकासँग समन्वय भइरहेको डिभिजन प्रमुख पौडेलले जानकारी दिए।
जिल्लालाई फोहरमुक्त घोषणा गर्न त्यति सहज नभए पनि असम्भव नभएको उनले बताए । ‘चुनौती धेरै छन्, हामीसँग समय धेरै छैन तै पनि सबै सरोकारवाला निकायले काम गरे सम्भव छ। हामी पुसभित्र जिल्लालाई खुला दिशामुक्त र फोहरमुक्त सहर घोषणा गर्छौं’ पौडेलले भने ।