दाङ देउखुरी जिल्ला अदालतले घोराहीका युवा बाबु पुनलाई पुरपक्षका लागि थुनामा पठाएको छ ।
सोमबार जिल्ला अदालतको निर्णय अनुसार पुनलाई पुरपक्षका लागि थुनामा र उनका चारजना सहयोगीहरूलाई जनही एक/एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
धरौटीमा रिहा हुने चारजना उनका सहयोगीहरूमा गणेश वली, रवि रोका, श्याम पुन र जनक खड्का रहेका छन् । २०७३ साल कात्तिक १८ गते घोराहीको डिके पेट्रोल पम्प नजिकै घोराहीका युवा विकास पुन र उनको समूहलाई आक्रमण तथा लुटपाट गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
बाबु पुन र श्याम पुन गत भदौ २७ गते घोराहीको होटल सिटी गार्डेनबाट पक्राउ परेका थिए भने त्यसपछि अन्य तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक निर्मल खत्रीले जानकारी दिए ।
०७३ साल कात्तिक १८ गते विकास पुनको समूहमाथि बाबु पुनको समूहले खुकुरी, रड र बेयरका वोत्तल लगायतले आक्रमण गरी उक्त परिमाणमा नगद र सुनको सिक्री, व्रासलेट, औंठी लगायतका गरगहना लुटेरे लगेको प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि बाबु पुन र उनका सहयोगीहरु फरार थिए । प्रहरीले भदौ २७ गते उनीहरूलाई पक्राउ गरि संगठित अपराध अन्तरगत मुद्दा चलाएको थियो ।