राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनर्निर्माण कार्यहरूको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्टाएर कार्यकारी समिति सदस्यहरू चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, हरिराम पराजुली र बिष्णु बहादुर भण्डारीलाई भूकम्प पीडित ३१ जिल्लामा हुने र भैरहेका पुनर्निर्माणसँग सम्बन्धित समग्र कार्यहरूको अनुगमन तथा सहजीकरण गर्ने जिम्मेवारी दिएका हुन्।
कार्यकारी समिति सदस्य हरिराम पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ ।
यसैगरी कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाण्डौ, कास्की, लमजुङ, तनँहु , स्याङजा र अर्का कार्यकारी सदस्य बिष्णु बहादुर भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङको जिम्मेवारी तोकिएको छ ।
यस्तै कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने गरि जिम्मेवारी तोकिएको छ ।
प्राधिकरणको कार्यलाई थप तीव्रता दिई कार्य समितिबाट भएका पूर्व निर्णयलाई तोकिएकै समयमा कार्य सम्पन्न गर्न÷गराउन लागि भूकम्प पीडित ३१ जिल्लामा हुने र भइरहेका निजी आवास निर्माण, बस्ती स्थानान्तरण, सम्पदा पुनर्निर्माण, पुर्वाधार निर्माण, जिविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पदान, सीप विकास लगायतका कामहरुको कार्यान्वयन तथा सो को निरन्तर अनुगमन गरि कार्यक्षेत्रको जिल्ला र त्यसभित्र पर्ने नगरपालिका, गाँउपालिका तथा वडामा भइरहेको समग्र कार्यहरुको अनुगमन तथा सहजीकरण गरि प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रमुख कार्यकारी अधिकृत भूसालले भने ‘उहाँहरुलाई भूकम्प प्रभावित जिल्लामा समग्र पुनर्निर्माणको अनुगमन र त्यस क्रममा देखिएका समस्याहरू यथास्थानमै सहजीकरण गरी समाधान गर्ने÷ गराउने तथा विशेष कारणवश प्रगति हुन नसकिरहेको खण्डमा प्राधिकरणमा छलफलका लागि प्रतिवेदन समेत पेश गर्ने गरी जिम्मेवारी दिएका छौ, आशा छ यसले पुनर्निर्माणको गतिलाई थप तीव्रता दिनेछ।’