नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।
राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको उल्लेख गरिएको हो। सर्वेक्षणले ५ वर्षमुनिका बालबालिकाको मृत्युदर विगत २० वर्षमा तीन गुणा घटेको पनि स्पष्ट पारेको छ।
त्यसैगरी, नेपालमा गर्भवती सेवा सुधारोन्मुख हुँदै गएको पनि सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा एउटा विवाहित महिलाको औसतमा लगभग २ वटा बच्चा जन्मने गरेको पनि देखाएको छ। कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर गीताभक्त जोशीले मातृ तथा बाल स्वास्थ्यमा सुधार हुँदै जानु नेपालको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।
जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् १९९६ यताको पाँचौं सर्वेक्षण हो। सर्वेक्षणमा अझै पनि नेपालका धेरै बालबालिका कुपोषणले ग्रस्त रहेको पनि उल्लेख गरिएको छ।