महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको पूर्ण पालना गर्न यातायात व्यवसायीहरूलाई पुनः आग्रह गरेको छ।
महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक नियमको पूर्ण पालना गरी यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न लागि पर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका हुन्।
उनले जथाभावी गाडी पार्किङ गरेर सवारी साधनको आवागमनमा कठिनाई निम्त्याउने काम भए कडा कार्वाही गर्न ट्राफिक प्रहरी बाध्य हुने चेतावनी समेत दिए।
सोमबार काठमाडौंमा आयोजित यातायात व्यवसायी र त्यसमा आवद्ध मजदूरहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खनालले ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै यातायात व्यवसायीहरूको प्रतिष्ठा बढ्दै जाने बताए।
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबहाक अध्यक्ष डोलनाथ खनालले ट्राफिक प्रहरीसँग सहकार्य गरेरै ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उलंघन नगर्न पटक/पटक यातायात व्यवसायीहरुलाई आग्रह गर्दै आएको छ।