गुडिरहेको प्रहरीको गाडीबाट हाम फाल्दा रुपन्देहीमा एक जना कैदीको ज्यान गएको छ। चोरी मुद्दामा पक्राउ परी जिल्ला अदालत भैरहवामा म्याद थप गरी फर्किदै गर्दा गाडीबाट हामफालेर भाग्न खोज्दा भारत सिद्धार्थनगर थाना महाना ग्राम नौतनवा बस्ने २५ वर्षीय विजयकुमार खटिकको ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीले चोरी मुद्दामा अनुसन्धान गर्न शनिबार पक्राउ गरी आईतबार म्याद थप गरेर जिल्ला अदालतबाट फर्किदै गर्दा खटिक गाडीबाट हामफालेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार खटिक आईतबार साँझ सवा पाँच बजेतिर लुम्बिनी रोडमा ईलाका प्रहरी कार्यालय लुम्बिनीको ना १ ग ६१३ नं. को गाडीबाट हाम फालेका थिए ।
गुडीरहेको गाडीको दायाँ साईडबाट हामफालेका खटिक सोही गाडीको पछाडिको चक्कामा परेका थिए। गम्भीर घाईते उनको उपचारकै क्रममा आईतबार राति मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक पाण्डेले बताए ।