दुबई बस्ने अस्ट्रेलियन नागरिक स्कट रिचर्डलाई यस कारण जेल हालियो, किनकि उनले चिसोमा कठ्यांग्रिएका अफगानी केटाकेटीलाई सिरक किनिदिन खोजेका थिए। अदालतले उनी यस्तो सहयोग गर्ने आधिकारिक संस्थामा आबद्ध नभएको भन्दै सजाय सुनायो।
एक फुटबल टिमका प्रमुख डेभिड हेगलाई ‘ट्विट गरेको’ भन्दै सात महिना जेल हालियो। बेलायती नागरिक हेगले उक्त ट्विट नगरेको दाबी गरे। आफू पहिल्यै जेलमा रहेको र फोन पनि साथमा नभएको उनको जिकिर थियो। अदालतले उनको जिकिर सुनेन।
संयुक्त अरब इमिरेट्सका सात राज्यमध्ये एक दुबईमा विदेशीको बाहुल्य छ। दुबई सरकारले नीतिगत रूपमै विदेशी नागरिकको बसोबासलाई स्वागत गर्छ। यो संसारमै चौथो बढी घुमिने सहर पनि हो, जहाँ स्वदेशीभन्दा विदेशी नागरिक कम्तिमा १२ गुणा बढी छन्।
यति धेरै विदेशी बसोबास रहेको यो ठाउँमा कट्टर शरिया कानुन प्रचलित छ। यही कानुन टेकेर सानो सानो विषयमा विदेश पक्राउ गर्दै जेल हालिन्छ। कतिपय घटना त यस्ता छन्, जुन अपराध हो भन्नेसम्म थाहा हुँदैन।
सार्वजनिक ठाउँमा हात समातेर हिँडेको, कुनै सहायता समूहलाई प्रशंसा गर्दै फेसबुकमा लेखेको, अनुमतिबिना मदिरा पिएको, विपरीत लिंगी (श्रीमान–श्रीमतीबाहेक) सँग होटलको एउटै कोठामा बसेकोजस्ता घटनामा पनि विदेशीहरू पक्राउ गरिएका छन्।
हुन त दुबईका होटलमा कोठा लिँदा केटा–केटीले आफू विवाहित हुँ भनी प्रमाणित गर्नुपर्दैन। रात्रिजीवन यति जीवन्त छ, समलिंगी बारदेखि नाइट क्लबहरू बग्रेल्ती खुलेका छन्। पूर्वी युरोपबाट आएका यौनकर्मी राति खुला रूपमा ग्राहकसँग मोलतोल गर्दै गरेका भेटिन्छन्। यति हुँदाहुँदै जब यस्ता घटनामा विदेशी नागरिक मुछिन्छन्, दुबई अधिकारीहरूको हेर्ने दृष्टि अर्कै हुने वकिलहरूको भनाइ छ।
दुबई कानुनअनुसार केटा–केटीले विवाहअघि शारीरिक सम्बन्ध राख्नु अपराध हो। समलैंगिक सम्बन्धमा त मृत्युदण्डसमेतको व्यवस्था छ। अहिलेसम्म दिइएको भने छैन। कोही यौन पेसामा संलग्न फेला परे लौरोले कुट्ने वा त्योभन्दा कडा सजाय सुनाइन सक्छ।
कतिपय घटनामा पीडित पक्षलाई नै नैतिकताको कुरा उठाउँदै जेल हालिन्छ। समलिंगी पुरुषले आफू पीडित भएको उजुरी गरे आक्रमणकर्ता त जेल पर्छ पर्छ, पीडित आफैं पनि सजायबाट बच्दैन। कुनै महिलाले बलात्कृत भएको उजुरी दिए पुष्टि गर्न चार जना पुरुष प्रत्यक्षदर्शी खोज्नुपर्छ। प्रत्यक्षदर्शी फेला नपरे उनी आफू पनि सजायका भागीदार हुन्छिन्।
बेलायती अधिवक्ता राधा स्टर्लिङले नैतिक आचरणका नाममा जेल सजाय काटिरहेका सयौं विदेशीको पक्षमा वकालत गरेकी छन्।
‘दुबई जाँदै हुनुहुन्छ भने कहिलेकाहीँ अनाहक जेल पर्न सक्नुहुन्छ,’ स्टर्लिङले भनिन्, ‘कुनै घटना यस्ता हुन्छन्, जुन गैरकानुनी हो भन्ने कल्पनासम्म हामी गर्दैनौं। सबैले गरिरहेका हुन्छन्, तपाईंलाई सामान्य लाग्न सक्छ। तर, त्यही काम गर्दा तपाईं जेल पर्न सक्नुहुन्छ।’
उनी दुबईमा थुना परेका बेलायती नागरिकको उद्धारमा संलग्न छिन्। उनले हालसालै उठाएका दुई घटनाले बेलायतमा धेरैलाई आक्रोशित बनाएको छ। दुबई बस्ने सबभन्दा बढी विदेशी बेलायती नागरिक नै हुन्।
स्कटल्यान्डका इलेक्ट्रिसियन २७ वर्षीय जेमी ह्यारन दुबई घुम्न गएका थिए। एकदिन बारमा एक जना केटाको कम्मर छोएको भन्दै उनलाई पक्राउ गरियो। र, तीन महिना जेल सजाय सुनाइयो।
[caption id="attachment_104652" align="alignright" width="300"]
बारमा एक जना केटालाई छोएको भनी तीन महिना जेल परेका स्कटिस पर्यटक जेमी ह्यारन।[/caption]
उता, लिकेस्टरका बेलायती नागरिक जमिल अहमद मुकादमले दुबईका ट्याक्सी चालकलाई रिसको झोकमा माझी औंला देखाइदिएछन्। २३ वर्षीय मुकादमविरुद्ध अदालतमा सुनुवाइ जारी छ।
मुकादम कम्प्युटर परामर्शदाता हुन्। त्यस दिन उनी भाडाको गाडी चढेका थिए। त्यही भएर उनी बस्ने ठेगाना पत्ता लगाउन प्रहरीलाई गाह्रो भयो। छ महिनापछि सेप्टेम्बरमा जब उनी बेलायतबाट दुबई फर्किंदै थिए, विमानस्थलमै पक्राउ परे।
मुकादम धरौटीमा छुटेका छन्। उनीसँग पासपोर्ट छैन। आरोप पुष्टि भए ‘अश्लील इसारा’ गरेको भन्दै छ महिना जेल सजाय तोकिनेछ। श्रीमती र केटाकेटीसँग अक्सर दुबई आउजाउ गरिरहने मुकादमलाई यहाँको हलाल खानेकुरा एकदमै मन पर्छ। यो घटनापछि भने अब उनी दुबई फर्किन चाहन्नन्।
‘म दुबई फर्केर आउने कुनै चान्स छैन,’ उनले भने, ‘मलाई यहाँ जस्तो व्यवहार गरियो, त्यो घटनापछि यहाँ खुट्टा पनि राख्न चाहन्न।’
दुबईका स्थानीय भने यस्ता घटनामा न आश्चर्य मान्छन् न त लचिलो हुनुपर्ने कारणै देख्छन्।
‘पश्चिमीहरूको संस्कृति हाम्रो यहाँको अरब संस्कृतिभन्दा फरक हुन्छ,’ दुबई अदालतका प्रमुख न्यायाधीश अहमद शैफले हालै एक अन्तर्वार्तामा भने, ‘कुनै व्यक्तिलाई माझी औंला देखाउनु वा कसैको अपमान गर्नु पश्चिमी देशमा पनि स्वीकार्य होइन, तर कानुनले सजाय दिँदैन। युएईमा बस्ने मान्छेको संस्कृति भने धेरै फरक छ। आखिरमा हामी मुसलमान हौं, र हामीकहाँ यस्ता नैतिक आचरणसँग जोडिएका गतिविधि स्वीकार्य हुँदैनन्।’
उनले भनेजस्तै विदेशीहरू धेरै पक्राउ पर्ने घटना नैतिक आचरणसँग जोडिएका छन्।
[caption id="attachment_104653" align="alignleft" width="300"]
ट्याक्सी चालकलाई माझी औंला देखाएको भनी मुद्दा खेपिरहेका बेलायती नागरिक जमिल अहमद मुकादम।[/caption]
उदाहरणका लागि, यहाँ अनुमतिबिना रक्सी खानु गैरकानुनी हो। यहीँ बसोबास गर्ने विदेशीलाई भने खान छुट छ। दुबई घुम्न आएका पर्यटकलाई यसको अनुमति छैन। उनीहरूले मान्यताप्राप्त बारमै गएर रक्सी पिए पनि अवैधानिक मानिन्छ।
त्यस्तै, केटा–केटीलाई विवाहअघि एउटै कोठामा बस्नधरि अनुमति छैन। आफ्नै घरमा पनि अविवाहित केटा–केटीलाई सँगै बस्न कानुनले रोक्छ।
दक्षिण अफ्रिकाबाट आएका २९ वर्षीय इमिलिन कुलभरवेलले बिहे गर्न पक्कापक्की भइसकेकी युक्रेनी केटी इरिना नोहाललाई डाक्टरकहाँ लगेका थिए। पेट दुखेर उपचार गर्न लग्दा डाक्टरले इरिना गर्भवती भएको बताए।
डाक्टरले थाहा पाउनेबित्तिकै थप उपचार गरेनन्, बरु प्रहरीलाई फोन गरिदिए। इमिलिन र इरिना तत्काल पक्राउ परे। प्रहरीले विवाह दर्ता प्रमाणपत्र माग्यो। उनीहरूले दिन सकेनन्। त्यसपछि दुवैलाई पक्राउ गरेर जेल हालियो।
केही स्थानीयलाई भने आफ्नो देशको कानुन बदलिँदो समाज सुहाउँदो नभएको अनुभूति छ।
‘कुनै पनि देशले आफूकहाँ बस्ने विदेशीहरूलाई कानुनको एक–एक व्यवस्था बुझाउनुपर्छ भन्ने सोच्नु व्यवहारिक होइन,’ दुबईका वकिल इशाम तमिमीले भने, ‘कम समयमै दुबईको विकास स्तर उच्च छ। यो विभिन्न समुदाय वा देशका मान्छे बसोबास गर्ने संसारकै एक अग्रणी सहरमध्ये पर्छ। एक किसिमले भन्दा पूर्वीय र पश्चिमी समाज आपसमा मिल्ने यो सहरमा बदलिँदो समयअनुसार कानुन लचिलो हुनुपर्छ।’
‘अहिलेको समय दुबईको समाज र युएईलाई नै लचिलो कानुनी व्यवस्थाको खाँचो छ,’ उनले भने।
यसबारे दुबईका जिम्मेवार अधिकारीहरूको प्रतिक्रिया बुझ्न खोज्दा सम्पर्कमै आएनन्।
एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले दुबईमा बिनासूचना पक्राउ गर्ने घटना बढेको बताएका छन्। कारागारमा बन्दीको अधिकार हनन् हुँदै गएको उनीहरुको भनाइ छ।
लिड्स युनाइटेड फुटबल क्लबका पूर्व प्रबन्ध निर्देशक हेगले आफू २२ महिना कारागारमा छँदा पटक–पटक दुर्व्यवहारको शिकार हुनुपरेको बताएका छन्। प्रहरीले अपराध कबुलनामामा हस्ताक्षर गर्न जोड दिँदै यातना दिएको उनले खुलासा गरेका छन्। हेग आफैंले भने उक्त कबुलनामा कहिल्यै पढ्न पाएनन्। आफूमाथि लगाइएको आरोप के हो भन्ने पनि उनलाई थाहा छैन। कयौं महिना वकिलधरि भेट्न नदिई त्यत्तिकै थुनेर राखिएको उनले बताए।
कारागारमै छँदा केही ‘आपत्तिजनक’ ट्विट गरेको भन्दै उनलाई सात महिना थप सजाय सुनाइएको थियो। हेगले भने त्यो बेला आफूसँग मोबाइल नभएकाले इन्टरनेटमा पहुँच नभएको जिकिर गरेका छन्।
[caption id="attachment_104651" align="alignnone" width="824"]
संसारकै अग्लो भवन बुर्ज खलिफा बाहिर पर्यटकको भीड। तस्बिर: न्यूयोर्क टाइम्स[/caption]
‘दुबईमा बसोबास गर्ने ९० प्रतिशत मान्छेले आफ्नो ९० प्रतिशत समय कानुन तोड्नमै बिताइरहेका छन्,’ हेगले भने, ‘जबसम्म अरूलाई असर गर्दैन, तपाईं स्वतन्त्र हुनुहुन्छ, अरूलाई असर गरेपछि भने सजायको भागीदार हुनुपर्छ।’
संयुक्त अरब इमिरेट्सका अन्य राज्यमा पनि विदेशी बसोबासी तथा पर्यटकले यस्तै समस्या झेलिरहेका छन्। दुबईमा यसको अनुपात बढी छ। आखिरमा पश्चिमीहरू बस्ने र घुम्न आउने दुबई नै हो।
दुबईमा जेल सजाय हुनसक्ने ‘अपराध’ को सूची लामै छ। कसैलाई बैंकमा पैसा नभएको चेक गल्तीले दिँदा पनि सजाय हुन्छ। क्रेडिट कार्डबाट खर्च गरेको रकम समयमै तिरेन भने जेल जानुपर्छ। कुनै केटा वा केटीको अनुमतिबिना तस्बिर लिनु पनि दुबईको दण्डनीय अपराध हो। कसैलाई छुनु पनि नैतिक आचरणविरुद्ध मानिन्छ र जेल सजायको भागीदार हुनुपर्छ।
जस्तो, ह्यारनमाथि आरोप थियो, उनले ‘रक बटम क्याफे’ जाँदा अर्को पुरुषलाई छोएका थिए। यो समलिंगी केटाहरूले बेलाबेला भ्रमण गर्ने क्लब हो। उनले ‘भिडभाडको बीचमा हिँड्दा हातमा रहेको गिलास नछचल्कियोस् भनेर अगाडिको मान्छेलाई समात्न पुगेको’ बयान दिएका छन्। ह्यारनलाई तीन महिना जेल सजाय सुनाइएको छ।
‘युएई सरकार भनेको आफ्नो छविप्रति एकदमै गम्भीर मुलुक हो,’ स्टर्लिङले भने, ‘कुनै घटनाले देशलाई नोक्सान हुन्छ भने सरकारले जतिसक्दो छिटो हल गर्न प्रहरीसँग कुरा गर्नेछ र आवश्यक परे अभियोग नै फिर्ता लिनेछ।’