प्रहरीमा जागिर लगाई दिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूलाई ठगी गर्दै हिड्ने एकजना महिलालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
छिमेकी जिल्ला रोल्पा स्थायी घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ जानकी टोल बस्दै आएकी २३ वर्षीया जानकी वलीलाई उक्त अभियोगमा पक्राउ गरेर अनुसन्धान थालिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिईन्।
दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ निवासी २० वर्षीया अनिता योगी र सोही ठाउँकै २१ वर्षीय विजयराज विकले वलीका विरुद्ध प्रहरीको जागिर लगाई दिने भन्दै आफूहरूलाई ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएका छन्।
उनीहरूले जनही एक लाख ५० हजार रुपैयाँ गरेर दुई जनाबाट तीन लाख रुपैयाँ वलीले लगेको जाहेरीमा उल्लेख गरेको एसपी सिंहले बताईन्। उक्त जाहेरीको आधारमा बिहिबार वलीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
वलीविरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एससी सिंहले जानकारी दिईन्।