कतार एयरवेजको दोहाबाट इन्डोनेशियाको बाली जान लागेको विमान एक दम्पतीबीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ। आइतबार कतार एअरलाइन्सको जहाजमा यात्रा गरिरहेकी एक इरानी महिलाले आफ्नो श्रीमानसँग झगडा गर्दा जहाज भारतको चेन्नईमा आकस्मिक अवतरण गरिएको हो। इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए।
उडानका बेला महिलाले आफ्नो पतिको मोबाइल हेरिन्, अनि थाहा भयो कि पतिका अरु कसैसँग प्रेमसम्बन्ध छ। रिसमा आएकी पत्नीले पतिसँग झगडा गर्न थालिन्। यसपछि तीव्र आक्रोशित बनेकी उनले जहाजका चालक दलका सदस्यलाई समेत जथाभावी भन्दै आफ्नो रिस पोखिन्। श्रीमानसँग उनको झगडाले उग्र रूप लिइरहँदा अन्य यात्रुलाई समेत निकै अप्ठेरो परेको थियो। जसका कारण विमानको चेन्नईमा अवतरण गराउनुपर्यो।
यो दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान बालीका लागि उडेको थियो। खासमा महिलाले सुतेका पतिको औला प्रयोग गरेर मोबाइल खोलिन् र त्यहाँ भएका कुराकानी हेरिन्।
भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार सरकारी अधिकारीहरूले भनेका छन- जोडीसँग बच्चा पनि थिए र यो जोडीलाई चेन्नईबाट फेरि दोहा पठायो किनभने उनीहरूसँग भारतीय भिसा थिएन ।
सुरूमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोसिस गरे। तर, पनि महिलाको रिस कम भएन ।
टाइम्स अफ इन्डियाले बताए अनुसार उक्त श्रीमतीको आक्रोश झन्झन् बढ्दै गयो र उनले यात्रारत सबैलाई अभद्र व्यवहार गर्न थालिन्। आफूलाई श्रीमानले विश्वासघात गरेकोले असह्य भएको भन्दै उनी यसरी प्रस्तुत भएकी थिइन्। उनले गर्दा उडानमा सुरक्षा चुनौती बढेको साथै आपतकालीन स्थिति आएकोले जहान फर्काएर चेन्नाईमा रोकिएको चालकले बताएका छन्। उनले जहाजमा यात्रा गर्दा दिइने मादक पदार्थ बढी नै सेवन गरेकोसमेत पाइएको छ।
चेन्नईमा जहाज अवतरण गरेपछि ती महिला श्रीमती, उनको श्रीमान् र बच्चाहरूलाई त्यहाँका सुरक्षा अधिकारीहरूले नियन्त्रणमा राखेका थिए। यसपछि मात्रै विमानले आफ्नो यात्रा बालीतर्फ अघि बढाएको थियो।
कतार एयरवेजले निजी मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिन मानेन ।